मंगलवार ११ कार्तिक, २०८३ (Tuesday October 27, 2026)

एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको शानदार जित, सुदूरपश्चिम ८७ रनमै अलआउट

सोमबार १० कार्तिक, २०८३ Bichar Batika 1130


एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको शानदार जित, सुदूरपश्चिम ८७ रनमै अलआउट

कार्तिक ९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनीले सुदूरपश्चिम सग सहज जित निकालेको हो।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटियो। जवाफमा लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएर लक्ष्य पूरा गर्‍यो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा चार चौका प्रहार गरे। ओपनर साइफ जैबले १३ तथा विनोद भण्डारीले ९ रन जोडे। इशान पाण्डेले ७ रन बनाउँदा ब्रान्डन म्याकमुलनले २ र शेरफन रुथरफोर्डले १ रन मात्रै बनाउन सके। अन्य ब्याटरले पनि उल्लेख्य योगदान दिन नसक्दा टोली कमजोर स्कोरमा समेटियो।
लुम्बिनीका बलरमध्ये किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले २८ रन खर्चिए। शेर मल्लले ३ विकेट हात पार्दा साड्ले भान, कप्तान रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिए। शेर मल्ल र किशोर महतोको प्रभावशाली बलिङपछि सुदूरपश्चिम ठूलो स्कोर बनाउन असफल भयो।
८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीका लागि अस्ट्रेलियन ब्याटर डार्सी सर्टले आक्रामक ब्याटिङ गरे। उनले १८ बलमा ४० रन बनाउने क्रममा ४ चौका र ३ छक्का प्रहार गरे। उनलाई अनिल खरेलले आउट गराए।
लुम्बिनीका आसिफ शेखले २५ बलमा ३२ रनको योगदान दिए। उनले २ चौका र २ छक्का प्रहार गरे। निरोशन डिकवेलाले ७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल ५ रनमा अविजित रहे। सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
यस जितसँगै लुम्बिनीले अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको इतिहासलाई उद्घाटन खेलमा पनि दोहोर्‍याएको छ।
एनपिएलको इतिहासमा सबैभन्दा कम योगफलको खराब कीर्तिमानबाट भने सुदूरपश्चिम जोगिएको छ। पहिलो संस्करणमा जनकपुरले सुदूरपश्चिमविरुद्ध ५१ रन बनाएको थियो भने दोस्रो संस्करणमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएको थियो।
तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेलमा अपराह्न ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु