आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

आईतवार ९ कार्तिक, २०८३ Bichar Batika 1088


भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न

असाेज ८ ,भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या शनिबार सम्पन्न भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजनीतिकर्मी अध्ययनशील र अनुसन्धानकर्ता हुनुपर्ने बताउनुभयो। समाजका समस्या बुझ्न र समाधान खोज्न अध्ययन, अनुसन्धान तथा व्यवहारिक अनुभव आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले भाषा र साहित्यको निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिँदै विभिन्न देशको जीवनशैली, कला, संस्कृति र भूगोल बुझ्न विदेशी साहित्यसमेत पढ्नुपर्ने बताउनुभयो। युवालाई खेलकुदमा सहभागी गराउन, विद्यालय तहदेखि प्राविधिक शिक्षामा दक्ष बनाउन र वैदेशिक रोजगारीका कारण उत्पन्न सामाजिक तथा आर्थिक समस्याबारे गम्भीर हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो।

 नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले विगत ३५ वर्षदेखि देशहितविपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता, अर्थतन्त्र र जनताको हित संरक्षण गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले सुरु गरिएको ‘एक घर, एक स्नातक’ अभियानको उपलब्धिबारे पनि चर्चा गर्नुभयो।

सम्मेलनको दोस्रो दिन किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वांङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
साहित्यतर्फ कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो हुनुभयो। कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रीया पहिजू तृतीय र एलके सुन्दर चौथो हुनुभयो।

दुईदिने सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्ध वाचनसँगै गीत–संगीत, नाटक, ख्याल, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशीलगायतले भाषा, साहित्य, संस्कृति र समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो।

सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो। साथै, हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक विमोचन तथा विभिन्न साहित्यकार र सर्जकलाई सम्मान गरिएको थियो।
नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ। नयाँ पुस्तालाई मातृभाषामा साहित्य सिर्जना गर्न प्रोत्साहित गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको ४६औँ तःमुंज्याका अध्यक्ष उकेश कवांले जानकारी दिनुभयो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु