सोमबार १० कार्तिक, २०८३
कात्तिक ९, झापा । धानबाली पाक्ने समय नजिकिएसँगै झापाका किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। यसैलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा निगरानी र गस्तीलाई तीव्र बनाएको छ।
धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई हात्तीको आक्रमणबाट हुन सक्ने मानवीय तथा भौतिक क्षतिबाट जोगाउन सशस्त्र प्रहरीले प्रभावित बस्तीमा माइकिङमार्फत सचेतना फैलाइरहेको छ। विशेषगरी बिहान, साँझ र रातिको समयमा हात्तीसँग जम्काभेट हुने जोखिम बढी हुने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार हात्तीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता बढाउनुका साथै स्थानीयस्तरमा सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको छ।
धानबाली जोगाउने क्रममा किसान तथा स्थानीय बासिन्दाले आफ्नो सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताउदै, हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने, लखेट्ने वा फोटो तथा भिडियो खिच्ने प्रयास नगरी सुरक्षित स्थानतर्फ जान सुरक्षाकर्मीले आग्रह गरेका छन् ।
हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ। सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउने, हात्तीको आवतजावतबारे सचेत बनाउने तथा क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामसमेत भइरहेको जनाइएको छ।
धानबालीको निगरानी गर्न रातिको समयमा खेतबारीमा जाने तथा हात्ती धपाउने प्रयास गर्दा जोखिम बढ्न सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हात्तीको बाटो अवरुद्ध गर्ने वा भीड जम्मा भएर हात्तीलाई घेराबन्दी गर्ने कार्यले समेत दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ।
घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न सुझाव दिइएको छ। बस्तीमा रहेका बालबालिका तथा वृद्धवृद्धाको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।
झापाको मेचीनगरस्थित बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका विभिन्न स्थानमा जङ्गली हात्तीको आवतजावत र त्यसबाट हुने क्षतिको समस्या देखिँदै आएको छ।
धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा हात्तीको जोखिमसमेत बढ्न सक्ने भएकाले किसान तथा स्थानीय बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा सुरक्षित दूरी कायम गर्न सशस्त्र प्रहरीले आग्रह गरेको छ।