बिहीबार ४ मंसिर, २०८३ (Thursday November 19, 2026)

मेराे राेजाईमा नेकपा (एमाले) नै किन .....?

बुधबार ३ मंसिर, २०८३ Bichar Batika 1190


मेराे राेजाईमा नेकपा (एमाले) नै किन .....?

मंसिर २ , काठमाडौं । कुनै पनि राजनीतिक दल रोज्नु भनेको आफ्नो राजनीतिक विश्वास, विचार र भविष्यप्रतिको दृष्टिकोण रोज्नु हो। मेरो दृष्टिमा नेकपा (एमाले)नै रोज्नुका प्रमुख आधार यसको ऐतिहासिक योगदान, वैचारिक स्पष्टता, देशव्यापी संगठन , सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम, राष्ट्रियताप्रतिको प्रतिबद्धता र विकास तथा समृद्धिको दृष्टिकोण हुन्।
एमालेसँग राजनीतिक सङ्घर्षको इतिहास छ, जनताको बहुदलीय जनवादजस्तो वैचारिक आधार छ र देशका विभिन्न भूगोल तथा समुदायसम्म पुगेको संगठनात्मक पहुँच छ। यसले देशको राजनीतिक प्रतिस्पर्धामा आफ्नो छुट्टै पहिचान बनाएको छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको पार्टीलाई केवल सत्तामा पुग्ने माध्यमका रूपमा होइन, समाज परिवर्तनको जिम्मेवार राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने आवश्यकता हो। पार्टीमा आबद्ध व्यक्ति वा समर्थकले पनि आफ्नो दलकाे राम्रा कामको समर्थन गर्नुका साथै कमजोरी सुधार्न र गलत कामको आलोचना गर्न सक्नुपर्छ। स्वस्थ राजनीतिक संस्कारको विकासले मात्रै लोकतन्त्र बलियो हुन्छ।
एमाले रोज्नुको अर्थ अन्य राजनीतिक दलको अस्तित्व र योगदानलाई अस्वीकार गर्नु भने होइन। लोकतन्त्रमा फरक विचार, फरक राजनीतिक धार र स्वस्थ प्रतिस्पर्धा आवश्यक हुन्छ। तर आफ्नो विचार, विश्वास र मूल्यका आधारमा एउटा राजनीतिक दल रोज्ने स्वतन्त्रता पनि प्रत्येक नागरिकसँग हुन्छ।
मेरो रोजाइमा एमाले पर्नुको आधार यसको इतिहास, विचार, संगठन र समृद्ध नेपाल निर्माण गर्ने सम्भावना भएकाेले हो। यसलाई अझ जनउत्तरदायी, पारदर्शी, अनुशासित र परिणाममुखी बनाउने जिम्मेवारी पनि पार्टीकै काँधमा छ।
 हिजोको विरासत, आजको जिम्मेवारी र भोलिको सपना
इतिहासले पार्टीलाई पहिचान दिन्छ, वर्तमानले जिम्मेवारी सुम्पन्छ र भविष्यले परीक्षामा उभ्याउँछ। नेकपा (एमाले) ले हिजो राजनीतिक सङ्घर्षबाट आफ्नो पहिचान बनायो, आज जनताको विश्वास र जिम्मेवारीलाई बलियो बनाउनुपर्ने अवस्थामा छ र भोलि समृद्ध, आत्मनिर्भर तथा न्यायपूर्ण नेपाल निर्माण गर्ने चुनौतीकाे सामना गर्नुपर्नेछ।
मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मूल मर्मलाई समयअनुसार व्यवहारमा उतार्दै जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नु आजको आवश्यकता हो। विचारलाई व्यवहारसँग, नेतृत्वलाई जनतासँग र संगठनलाई परिणामसँग जोड्न सके मात्रै पार्टीको राजनीतिक यात्रा सार्थक बन्न सक्छ।
मलाई लाग्छ, राजनीतिक दलको वास्तविक शक्ति केवल संसदमा रहेको सङ्ख्या, सरकारमा पुगेको अवधि वा नेताको लोकप्रियताले मात्र मापन हुँदैन। जनताको सुख–दुःखमा कति साथ दिन सक्यो, देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्न कति जिम्मेवार बन्यो र नागरिकको जीवनमा कति सकारात्मक परिवर्तन ल्याउन सक्यो भन्ने कुराले यसको वास्तविक मूल्य निर्धारण गर्छ।
त्यसैले नेकपा (एमाले) प्रति मेरो विश्वास यसको हिजोको सङ्घर्षपूर्ण इतिहास, आजको राजनीतिक उपस्थिति र भोलिको सम्भावनासँग जोडिएको छ। विगतका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरी सच्याउने, नयाँ पुस्ताको भावना बुझ्ने र जनताको अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्ने बाटोमा एमाले अघि बढ्नुपर्छ।
हिजोको इतिहासलाई सम्मान गर्दै, आजको जिम्मेवारीलाई आत्मसात् गर्दै र भोलिको समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्पका साथ मेरो राजनीतिक रोजाइ नेकपा (एमाले) हो।
हिजो पनि एमाले, आज पनि एमाले र भोलि पनि एमाले भन्ने मेरो विश्वास कुनै अन्धसमर्थन होइन यो विचार, इतिहास, सम्भावना र समृद्ध नेपालको सपनाप्रतिको विश्वास हो।

  श्रेष्ठ नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क कमिटीकाे ,उपाध्यक्ष / प्रचारप्रसार तथा प्रकाशन  विभाग प्रमुख समेत हुनुहुन्छ  ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु