बुधबार ३ मंसिर, २०८३ (Wednesday November 18, 2026)

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु हुँदै

मंगलवार २ मंसिर, २०८३ Bichar Batika 1394


कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु हुँदै

मंसिर १, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आत्मसमीक्षा गर्दै संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु गर्दै छ ।
पार्टीका कमीकमजोरी पहिचान गरी सुधार गर्ने, पार्टीको विचार र दस्तावेजलाई स्पष्ट बनाउने तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने योजना र खाकासहित अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार पार्टीले विगतका कमीकमजोरी सच्याउँदै सकारात्मक प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक योजना बनाउनेछ ।
पौडेलले हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भन्दै नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधिमा नलाग्न आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन आपसी सहकार्य, समन्वय र एकताको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् ।
उनले अभियानमार्फत पार्टीको आत्मसमीक्षा, वैचारिक स्पष्टता, दस्तावेज निर्माण र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका तयार गरिने बताए ।
महामन्त्री पौडेलका अनुसार मंसिरभित्रै जिल्ला तथा प्रदेश अधिवेशन र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई समेत व्यापक बनाइनेछ । अभियान सञ्चालनको विस्तृत खाकासहितको सर्कुलर शीघ्र प्रदेश र जिल्ला तहमा पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
अभियानमार्फत पार्टीभित्रको कमजोरी सुधार गर्दै संगठनलाई चलायमान बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न कांग्रेसलाई तयार पार्ने लक्ष्य लिइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु