शुक्रबार २१ कार्तिक, २०८३
कार्तिक २०, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर धनतेरस पर्व मनाइँदै छ।
धनतेरसका दिन नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा तामा, पित्तललगायत धातुका भाँडाकुँडा किनेर घरमा ल्याउने र पूजा गर्ने परम्परा छ। यस दिन नयाँ धातुका सामग्री खरिद गर्दा घरमा सुख, समृद्धि र धनधान्य वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।
यस वर्ष तिथिको घटबढका कारण तिहारका विभिन्न पर्वको दिनमा केही परिवर्तन भएको छ। त्रयोदशी तिथिमा मनाइने कागपूजा तथा धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा मनाइनेछ। त्यस्तै, कात्तिक २५ गते भाइटीका परेको छ।
आज सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण ६ दिनसम्म मनाइने भएको छ।
धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु तथा लक्ष्मीको पूजा गर्नुका साथै देउसीभैलो खेल्ने, दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने र आपसी सद्भाव साटासाट गर्ने गरिन्छ।