बुधबार ७ आश्विन, २०८३
असाेज ७ काठमाडौं । अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। करिब दुई मिनेट लामो टिजरमा संवादभन्दा एक्सन, द्वन्द्व, गोली र स्टन्टका दृश्यलाई प्राथमिकता दिइएको छ, टिजरले फिल्मको सम्पूर्ण कथावस्तु नखुलाए पनि यसको कथा बदला, द्वन्द्व र पारिवारिक भावनाको वरिपरि घुम्ने संकेत गरेको छ।
टिजरको सुरुवात विराज भट्टको भ्वाइस ओभरबाट हुन्छ, त्यसपछि समीर भट्टलाई केन्द्रमा राख्दै तीव्र एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ,समीरको शारीरिक बनावट, फाइट सिक्वेन्स र आक्रामक प्रस्तुतीकरणले उनलाई फिल्मको प्रमुख एक्सन पात्रका रूपमा अगाडि सारेको देखिन्छ।
टिजरको सबैभन्दा चासोपूर्ण पक्ष भने विराज भट्ट र समीर भट्टको आमनेसामने दृश्य हो, दुई शक्तिबीचको संघर्ष र त्यसको निर्णायक परिणामको संकेत दिने दृश्यले फिल्ममा बाबु–छोराकै पात्रबीच टकराव हुने सम्भावनातर्फ संकेत गर्छ। यद्यपि उनीहरूको वास्तविक सम्बन्ध, संघर्षको कारण र कथाको अन्तिम मोड भने निर्माण पक्षले टिजरमार्फत खुलाएको छैन।
‘१२ गाउँ २’ लाई निर्माण पक्षले एक्सनप्रधान फिल्मका रूपमा प्रस्तुत गरेको छ, टिजरमा हातहतियार, कुटाकुट, किक, दौड, स्टन्ट तथा भिडन्तका दृश्यलाई तीव्र गतिमा प्रस्तुत गरिएको छ, साथै पात्रहरूबीचको सम्बन्ध, परिवार र बदलाको भावनालाई पनि कथाको महत्वपूर्ण पाटोका रूपमा देखाउन खोजिएको छ।
विशेषगरी समीर भट्टको एक्सन अवतारलाई टिजरको केन्द्रमा राखिएको छ,यसअघि सार्वजनिक पोस्टर र गीतमा पनि समीरलाई फरक–फरक अवतारमा प्रस्तुत गरिएको थियो, पहिलो गीत ‘जुनेली’ मा समीर र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को जोडी तथा ब्रेकडान्स प्रस्तुत गरिएको थियो, गीतलाई सार्वजनिक भएको केही दिनमै युट्युबमा १५ लाखभन्दा बढी पटक हेरिएको विवरण सार्वजनिक भएको छ।
फिल्ममा विराज र समीर भट्टसँगै अनुपविक्रम शाही, कृशु शाही (काफिया), वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहिल सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर. शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। कृशु शाही र वर्षा इटानीले यही फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।
समीर र काफियालाई फिल्ममा अनस्क्रिन जोडीका रूपमा प्रस्तुत गरिएको छ। काफियाका लागि यो डेब्यु फिल्म हो भने समीर यसअघि ‘१२ गाउँ’मार्फत एक्सन भूमिकामा दर्शकमाझ परिचित भइसकेका छन्।
‘१२ गाउँ २’ को कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्,फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन्,द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनको रहेको छ, नृत्य निर्देशन रामजी लामिछाने र सियोन श्रेष्ठले गरेका छन्,संगीततर्फ युग भुसाल र डीपी खनालको योगदान रहेको छ।
फिल्म विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो भने सरस्वती भट्ट निर्माता हुन्, फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिनेमाले गर्ने जनाइएको छ।