मंगलवार ६ आश्विन, २०८३
असाेज ६ काठमाडौं , जेन–जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको टंगालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य कार्यालय तथा स्टोर पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।
आगलागीबाट भवन, संरचना, उपकरण तथा ठूलो परिमाणमा सामग्री नष्ट भएपछि बन्द भएको टंगाल स्टोरलाई करिब एक वर्षको पुनर्निर्माणपछि हिजाे सोमबारदेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको हो।
पुनः सञ्चालनसँगै टंगाल भाटभटेनी नयाँ संरचना, आधुनिक पूर्वाधार र थप सेवासहित ग्राहकका माझ फर्किएको कम्पनीले जनाएको छ,स्टोरमा किनमेलसँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खानालगायतका सेवा थप गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ,तीमध्ये टंगालसहित १० वटा स्टोर पुनर्निर्माण गरी सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौँडाका स्टोर भने पुनर्निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ।
क्षतिपछि पुनर्निर्माणका क्रममा भवन मात्रै नभई विद्युत् तथा प्राविधिक प्रणाली, बिक्री कक्ष, भण्डारण, सुरक्षा व्यवस्था र ग्राहक सेवाका पूर्वाधारसमेत नयाँ ढंगले निर्माण गरिएको कम्पनीले जनाएको छ।
आगलागीबाट ठूलो भौतिक तथा आर्थिक क्षति भए पनि कम्पनीले कर्मचारीलाई रोजगारीबाट विस्थापित नगरी पुनर्निर्माणसँगै व्यवसायलाई क्रमशः पुरानै लयमा फर्काउने नीति लिएको जनाएको छ।

टंगाल भाटभटेनीको पुनः सञ्चालनसँगै लामो समयदेखि बन्द रहेको राजधानीको प्रमुख व्यापारिक केन्द्रमध्ये एक फेरि सञ्चालनमा आएको छ, आगोले ध्वस्त बनाएको संरचना पुनः उभिएसँगै भाटभटेनीले क्षतिपछिको पुनरुत्थानलाई व्यवहारमै अघि बढाएको सन्देश दिएको छ।