शुक्रबार ५ मंसिर, २०८३ (Friday November 20, 2026)

आज हरिबोधनी एकादशी : तुलसी विवाह गरी भगवान् विष्णुको पूजा आराधना गरिँदै

शुक्रबार ५ मंसिर, २०८३ Bichar Batika 1138


आज हरिबोधनी एकादशी : तुलसी विवाह गरी भगवान् विष्णुको पूजा आराधना गरिँदै

मंसिर ४, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा घरघरमा तुलसीको विशेष पूजा आराधना गरी तुलसीको विवाह भगवान् विष्णुको प्रतीक दामोदरसँग गरिँदै छ ।
हरिबोधनी एकादशीलाई ठूलो एकादशी तथा देवउठनी एकादशीका नामले समेत चिनिन्छ । धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा जानुभएका भगवान् विष्णु आजकै दिन जागृत हुनुहुन्छ । त्यसैले यस दिनलाई हरिबोधनी वा प्रबोधिनी एकादशी भनिएको हो ।
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ । यस अवधिमा भगवान् विष्णु योगनिद्रामा रहनुहुने धार्मिक विश्वासका कारण विवाह, व्रतबन्धलगायतका मांगलिक कार्य नगर्ने परम्परा छ । हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने र विवाहलगायत शुभकार्यको सुरुवात गर्ने धार्मिक मान्यता रहेको छ ।
यस दिन हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीलाई विशेष रूपमा सिँगारेर भगवान् विष्णुको प्रतीक दामोदरसँग विवाह गराउने चलन छ । तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरी फूलमाला, ध्वजा तथा विभिन्न पूजाका सामग्रीले सजाइन्छ । त्यसपछि विधिपूर्वक तुलसी र भगवान् दामोदरको पूजा गरी विवाह सम्पन्न गरिन्छ ।
तुलसीलाई हिन्दु धर्ममा अत्यन्त पवित्र वनस्पति मानिन्छ । धार्मिक मान्यताअनुसार तुलसीको पूजा गर्नाले घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । तुलसीमा औषधीय गुणसमेत पाइने भएकाले यसको धार्मिकसँगै स्वास्थ्यका दृष्टिले पनि विशेष महत्त्व रहेको छ ।
हरिबोधनी एकादशीका दिन व्रतालुहरू निराहार वा फलाहार गरी व्रत बस्ने, भगवान् विष्णुको पूजा आराधना गर्ने, भजनकीर्तन गर्ने तथा रातभर जाग्राम बस्ने परम्परा छ । यस दिन सक्खरखण्ड, पिँडालु र वनतरुलजस्ता फलाहार खाने चलन पनि रहेको छ ।
यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणलगायत देशभरका विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विशेषगरी बूढानीलकण्ठ नारायणस्थानमा हरिबोधनी एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने परम्परा छ ।
हरिबोधनी एकादशीले धार्मिक आस्था, पारिवारिक एकता, प्रकृतिप्रतिको सम्मान र नेपाली मौलिक संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु