शनिबार २२ कार्तिक, २०८३
कार्तिक २१, काठमाडौं । श्री चण्डेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेला शनिबार सम्पन्न भएको छ। भेलाले पूर्व विद्यार्थी समाजलाई संगठित र सक्रिय बनाउने उद्देश्यसहित लोकहरि दाहालको संयोजकत्वमा १४ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

भेलामा पूर्व विद्यार्थी समाजको संस्थागत विकास, आपसी सम्पर्क तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। भेलाले समाजको आधिकारिक फेसबुक पेज निर्माण गर्ने, पूर्व विद्यार्थीहरूलाई समेटेर ह्वाट्सएप ग्रुप सञ्चालन गर्ने तथा सबै पूर्व विद्यार्थीहरूको सम्पर्क नम्बर सङ्कलन गरी फोन डायरी तयार गर्ने निर्णय गरेको छ।

पूर्व विद्यार्थीहरूबीच सूचना आदानप्रदान, अनुभव तथा ज्ञान सीपको साझा गर्ने र समाजलाई थप सक्रिय बनाउने विषयमा समेत छलफल गर्दै भेलाले प्रवासमा रहेका पूर्व विद्यार्थीहरूसँग सम्पर्क तथा समन्वय गर्ने जिम्मेवारी सञ्चिता दाहाल र रविन खत्रीलाई दिएको छ।
समाजका आगामी गतिविधि र योजनाबारे थप छलफल गर्न आगामी मंसिर ४ गते शनिबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा अर्को बैठक बस्ने निर्णय गरिएको छ।

भेलामा उपस्थित ज्येष्ठ पूर्व विद्यार्थी प्रेम थापाको अध्यक्षता तथा पूर्व विद्यार्थी लोकहरि दाहालको सञ्चालनमा सम्पन्न भएकाे पूर्व बिद्यार्थीहरूकाे भेलाले पूर्व विद्यार्थीहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्दै विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले समाजलाई थप व्यवस्थित र सक्रिय बनाउने पहल गरिएको आयोजकले जनाएको छ।