आईतवार २३ कार्तिक, २०८३
कार्तिक २२,काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरलाई यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक परम्परा छ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले आज साँझ घरघरमा दीपावलीसमेत गरिँदैछ।
कुकुरलाई मानिसको सबैभन्दा इमानदार र विश्वासी साथीका रूपमा लिइन्छ। घरको सुरक्षा गर्ने, अपराध अनुसन्धानमा सहयोग पुर्याउने तथा प्राकृतिक विपत्तिमा समेत मानिसलाई साथ दिने कुकुरप्रति सम्मान प्रकट गर्न यस दिन कुकुरलाई विशेष पूजा गरिन्छ।
कुकुर तिहारका दिन बिहानै कुकुरलाई नुहाइदिएर निधारमा टीका लगाउने, गलामा माला पहिर्याउने र मिठामिठा खानेकुरा खुवाउने चलन छ। कुकुरलाई फूलमाला, टीका र खानेकुरासहित पूजा गर्दा यमराज प्रसन्न हुने तथा मृत्युको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिइन्छ। पौराणिक कथाअनुसार यमराजको श्याम र सबल नाम गरेका दुई कुकुरले यमलोकको ढोका पहरा दिने गर्छन्। त्यसैले कुकुरलाई खुसी पार्दा यमराज पनि प्रसन्न हुने र अकाल मृत्युको भयबाट बच्न सकिने धार्मिक विश्वास छ।
महाभारतमा समेत कुकुरप्रतिको निष्ठा र विश्वासको प्रसङ्ग उल्लेख गरिएको छ। महाप्रस्थानका क्रममा युधिष्ठिरले आफ्नो साथमा रहेको कुकुरलाई त्याग्न अस्वीकार गरेको कथाले पनि कुकुरको महत्त्वलाई दर्शाउँछ।
कुकुर तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध, प्रेम, सद्भाव र सहअस्तित्वको सन्देशसमेत दिने गर्दछ। यस दिन घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरलाई पनि खाना खुवाउने, माया गर्ने र सम्मान गर्ने परम्परा छ।
तिहारको सबैभन्दा आकर्षक र उज्यालो पर्वका रूपमा लक्ष्मीपूजालाई लिइन्छ। कार्तिक कृष्ण औँसीको साँझ धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी यो पर्व मनाइन्छ। धार्मिक विश्वासअनुसार यस दिन माता लक्ष्मीले पृथ्वी भ्रमण गरी सफा, उज्यालो र सुन्दर घरमा प्रवेश गरी सुख, शान्ति तथा समृद्धिको आशीर्वाद दिने गर्छिन्।
लक्ष्मीपूजाका लागि बिहानैदेखि घर, आँगन, पूजाकोठा तथा घर वरपर सरसफाइ गर्ने गरिन्छ। साँझ परेपछि घरको मूलढोका, झ्याल, कौसी, आँगन तथा तुलसीको मठमा माटाका पाला, दियो र विभिन्न प्रकारका विद्युतीय बत्ती बालेर घरलाई झिलिमिली बनाइन्छ।
यस दिन घरको मूलढोकादेखि पूजा कोठासम्म चामलको पिठो र अबिरले लक्ष्मीका पाइला बनाउने चलन छ। लक्ष्मीको प्रतीकका रूपमा धन, सुनचाँदी, गरगहना, पैसा, धान, चामल, फलफूल, फूलमाला, सेलरोटी तथा मिठाइ चढाएर विधिपूर्वक पूजा गरिन्छ। साथै गणेशको पूजा गरी लक्ष्मीको आराधना गर्ने परम्परा छ।
व्यापारी तथा व्यवसायीहरूले आफ्नो पसल, कार्यालय र प्रतिष्ठानमा समेत विशेष पूजा गरी नयाँ आर्थिक वर्षको सुरुवात तथा व्यापार व्यवसायमा उन्नति र प्रगतिको कामना गर्ने गर्दछन्। कतिपय स्थानमा लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ।
लक्ष्मीपूजाको साँझ घरघरमा दीप प्रज्वलन गरी दीपावली मनाइन्छ। गाउँघरदेखि सहरबजारसम्म घर, सडक, मन्दिर तथा सार्वजनिक स्थानहरू विभिन्न रङ्गका बत्तीले सजाइन्छन्।
यस अवसरमा देउसी–भैलो खेल्ने, नाचगान गर्ने, आपसमा शुभकामना आदानप्रदान गर्ने तथा मिठा परिकार बाँडेर खाने चलन छ। देउसी–भैलोले नेपाली मौलिक संस्कृति, लोकगीत, संगीत र सामाजिक एकतालाई जीवन्त बनाउँदै आएको छ।
यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको पात्रोअनुसार कात्तिक २२ गते आइतबार बिहान कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा र दीपावली मनाइँदैछ।