सोमबार १७ कार्तिक, २०८३ (Monday November 02, 2026)

पाँच दशक लामो सांगीतिक साधनालाई सम्मान गर्दै उन्नती बोहरा ‘शीला’को गीत समर्पण साँझ सम्पन्न

आईतवार १६ कार्तिक, २०८३ Bichar Batika 1100


पाँच दशक लामो सांगीतिक साधनालाई सम्मान गर्दै उन्नती बोहरा ‘शीला’को गीत समर्पण साँझ सम्पन्न

कार्तिक १५, काठमाडौं । नेपाली साहित्य, गीत–संगीत तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ साहित्यकार तथा गीतकार उन्नती बोहरा ‘शीला’को पाँच दशक लामो सांगीतिक साधनालाई सम्मान गर्दै विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सुगम संगीतमा पाँच दशकभन्दा लामो समयदेखि साधनारत गीतकार बोहराको सिर्जनात्मक योगदानको सम्मानमा आइतबार ‘फर्कि आऊ शान्ति तिमी, उन्नती शीला संगीत समर्पण साँझ’ आयोजना गरिएको हो।
कार्यक्रममा बोहराद्वारा रचना गरिएका २५ वटाभन्दा बढी कालजयी गीत प्रस्तुत गरिएको थियो। उहाँले हालसम्म करिब ३०० कविता र २५० गीत सिर्जना गर्नुभएको छ। तीमध्ये सार्वजनिक रूपमा रेकर्ड भएका १५१ गीतबाट छनोट गरिएका उत्कृष्ट गीतहरू कार्यक्रममा प्रस्तुत गरिएका थिए। ‘फर्कि आऊ शान्ति तिमी’, ‘जननी जन्मभूमिश्च’ र ‘डाँडाकाँडा ढुपक्क ढाँकी’ लगायतका गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गरेका थिए।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा गीतकार बोहराले कुनै पनि देशको प्रगति र उन्नतिको मूल्याङ्कन भौतिक विकासका आधारमा मात्र नभई सांस्कृतिक चेतनाका आधारमा समेत गरिनुपर्ने बताउनुभयो। सांस्कृतिक चेतना फैलाउने र त्यसको माध्यमबाट देशको पहिचानलाई जीवन्त राख्ने महत्वपूर्ण जिम्मेवारी कलाकारहरूको रहेको उहाँको भनाइ थियो।
लामो समयदेखिको गीत लेखन यात्राको यस मोडमा शुभेच्छुक, साहित्यकार, संगीतकर्मी तथा आफ्ना सिर्जनाप्रेमीहरूको साथ र माया विशेष रूपमा आवश्यक महसुस गरेको पनि उहाँले बताउनुभयो।
‘उन्नती शीला संगीत समर्पण साँझ’मा मीरा राणा, प्रमोद खरेल, कर्णदास, आनन्द कार्की, जगदीश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, संगीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य र सरिता शाही लगायतका ख्यातिप्राप्त गायक–गायिकाले गीत प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, कार्यक्रममा नेपाली संगीतका धरोहर, संगीत रत्न तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बाँस्कोटालाई अभिनन्दन गरिएको थियो। नेपाली गीत–संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका वरिष्ठ गायिका मीरा राणा, वरिष्ठ साहित्यकार उषा शेरचन लगायतका स्रष्टाहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमले नेपाली सुगम संगीतको विकासमा गीतकार उन्नती बोहरा ‘शीला’ले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँका कालजयी सिर्जनालाई पुनः स्मरण गर्ने अवसर प्रदान गरेको छ। साथै, नेपाली गीत–संगीतका स्रष्टा र साधकहरूबीच सम्मान, सहकार्य र सांस्कृतिक एकताको सन्देशसमेत प्रवाह गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु