शुक्रबार ३० आश्विन, २०८३
असोज ३०, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता प्राप्त गरेको जानकारी दिएको हो।
एनपीएलको तेस्रो संस्करण १० दिनपछि काठमाडौंमा सञ्चालन हुँदैछ। प्रतियोगिताले आईसीसीको आधिकारिक मान्यता पाएसँगै सहभागी फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा चार खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति दिएको थियो। अब आधिकारिक मान्यता प्राप्त भएसँगै विदेशी खेलाडीको सहभागितासम्बन्धी प्रक्रिया थप सहज हुने विश्वास गरिएको छ।
क्यानले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान र प्रतिष्ठा थप मजबुत हुने क्यानको भनाइ छ।
