शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा–आराधना गरिँदै

शुक्रबार ३० आश्विन, २०८३ Bichar Batika 1162


आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा–आराधना गरिँदै

असोज ३०, काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको पूजा–आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा भगवतीका मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनले श्रद्धापूर्वक पूजाअर्चना गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार, देवी कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रतीकका रूपमा पूजा गरिन्छ। देवीको आराधना गर्नाले दुःख–कष्ट हट्ने, बाधा–अड्चनबाट मुक्ति मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
पौराणिक कथाअनुसार, महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर देवी भगवतीले उनकी पुत्रीका रूपमा जन्म लिएकी थिइन्। त्यसैले उनको नाम कात्यायनी रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। देवी कात्यायनीले महिषासुरको वध गरी देवताहरूलाई अत्याचारबाट मुक्त गराएको कथासमेत प्रचलित छ।
नवरात्रका नौ दिनमा नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार भक्तजनले व्रत बस्ने, दुर्गा सप्तशती पाठ गर्ने तथा मन्दिरमा दीप प्रज्वलन गरी देवीको आराधना गर्ने गर्छन्।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नवरात्रले असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको सन्देश दिनुका साथै समाजमा आपसी सद्भाव, एकता र धार्मिक आस्था अभिवृद्धि गर्ने विश्वास गरिन्छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु