शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाता देवीको पूजा–आराधना गरिँदै

बिहीबार २९ आश्विन, २०८३ Bichar Batika 1201


नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाता देवीको पूजा–आराधना गरिँदै

असोज २९, काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्ये पाँचौँ स्वरूप स्कन्दमाता देवीको पूजा–आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनले श्रद्धापूर्वक पूजाआजा गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् स्कन्द अर्थात् कुमार कार्तिकेयकी माता हुन्। उनलाई मातृत्व, ममता, करुणा र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। स्कन्दमाताको आराधना गर्नाले सुख, शान्ति, समृद्धि तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको पाँचौँ दिन भक्तजनले बिहानै स्नान गरी शुद्ध वस्त्र धारण गरेर देवीको पूजा गर्ने, फूल, अक्षता, धूप, दीप तथा नैवेद्य अर्पण गर्ने परम्परा छ। यस दिन देवीको दर्शन तथा पूजाआराधना गर्न मन्दिरहरूमा श्रद्धालुको उपस्थिति रहने गर्दछ।
नवरात्रका नौ दिनसम्म दुर्गा भवानीका नौवटा स्वरूपको क्रमशः पूजा–आराधना गरिन्छ। यस अवधिमा भक्तजनले व्रत बस्ने, दुर्गा सप्तशती पाठ गर्ने र शक्तिपीठहरूमा पूजाआजा गर्ने गर्दछन्।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नवरात्रले शक्ति उपासनासँगै श्रद्धा, आस्था र सकारात्मकताको सन्देश दिने विश्वास गरिन्छ। नवरात्रको समापनसँगै विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ।
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु