शनिबार २४ आश्विन, २०८३
असोज २४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा पर्न असफल भएको छ। ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो।
यससँगै नेपालले लिग–२ बाटै सिधै विश्वकप छनोटमा स्थान बनाउने अवसर गुमाएको छ। अब नेपालले विश्वकप छनोटमा पुग्न प्लेअफको बाटो अपनाउनुपर्नेछ।
क्यानडामाथि जित निकालेसँगै ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ। यता, ३२ खेल खेलिसकेको नेपालले २४ अंक मात्रै हासिल गरेको छ। नेपालले लिग–२ का बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंकसम्म पुग्न सक्छ। तर, ओमानले ३३ अंक जोडिसकेकाले नेपालले शीर्ष चारमा स्थान बनाउने सम्भावना समाप्त भएको हो।
लिग–२ मा अमेरिका ४७ अंकसहित च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो स्थानमा छन्। ओमान ३३ अंकसहित चौथो स्थानमा रहँदा नामिबिया ३१ अंकसहित पाँचौँ स्थानमा छ।
त्यस्तै, क्यानडा २५ अंकसहित छैटौँ, नेपाल २४ अंकसहित सातौँ र यूएई १९ अंकसहित आठौँ स्थानमा छन्।
शीर्ष चारमा पुग्ने लक्ष्य पूरा गर्न नसके पनि नेपालसँग लिग–२ का बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्ने अवसर भने बाँकी छ। अब नेपाली टोलीको ध्यान आगामी खेलमा जित निकाल्दै आफ्नो प्रदर्शन सुधार गर्ने र प्लेअफमार्फत विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो बनाउनेतर्फ केन्द्रित हुनेछ।
नेपालले लिग–२ अन्तर्गत आफ्नो अर्को खेलमा भोलि क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्नु नेपालका लागि अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न महत्त्वपूर्ण हुनेछ।