शुक्रबार २३ आश्विन, २०८३
असाेज २३ काठमाडौं , पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले छाड्ने निर्णय आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भूल भएको स्वीकार गरेका छन्।
गम्भीर स्वास्थ्य संकटमा रहेका बेला आफूलाई एमालेभित्रको राजनीतिक परिस्थितिबारे गलत सूचना दिइएको र त्यसकै प्रभावमा पार्टी छाड्ने निर्णयमा पुगेको खनालको भनाइ छ।
‘मेरो दुवै मिर्गौला फेल भएर म मृत्युसँग लडिरहेको थिएँ। शरीर अहिलेभन्दा तीन गुणा सुन्निएको थियो। मलाई अब नेपाल मेरो पार्थिव शरीर मात्रै फर्किन्छ होला भन्ने लागेको थियो,’ खनालले भनेका छन्।
त्यस्तो संवेदनशील अवस्थामा आफूलाई काठमाडौंमा पार्टीभित्रको अवस्थाबारे ‘पूर्णतः मिसइन्फर्म’ गरिएको उनको दाबी छ। ‘ओलीले सबै ढोका बन्द गरे, अब विद्रोहको विकल्प छैन भनियो। म भ्रममा परेँ,’ खनाले भनेका छन्।
खनालले एमालेसँग आफ्नो चार दशकभन्दा लामो राजनीतिक सम्बन्ध रहेको स्मरण गर्दै पार्टी निर्माणमा आफ्नो योगदानलाई जोड दिएका छन्। ‘एमाले त मैले बनाएको पार्टी हो। २०३९ सालदेखि २०४६ सालसम्म मैले नै तत्कालीन मालेको नेतृत्व गरेँ,’ उनले भनेका छन्।
आठौँ महाधिवेशनपछि पुनः पार्टीको नेतृत्व सम्हाल्दै तेस्रो स्थानमा खुम्चिएको एमालेलाई पहिलो पार्टी बनाउन आफूले भूमिका खेलेको उनको दाबी छ।
‘त्यो पार्टीभित्र मेरो रगत, पसिना र जीवनको ऊर्जाशील समय जोडिएको छ। तर परिस्थितिको गलत विश्लेषण र नेतृत्व तहको पदीय स्वार्थको घानमा परेर त्यही घर छाड्नु मेरो जीवनकै अक्षम्य ब्लन्डर बन्यो,’ खनालले भनेका छन्।
खनालको यो आत्मस्वीकारोक्तिले एमाले विभाजनपछिको उनको राजनीतिक निर्णय र त्यसबेलाको परिस्थितिप्रति गहिरो पछुतो रहेको देखाएको छ। पार्टीभित्रको अवस्थाबारे आफूलाई गलत सूचना दिइएको उनको आरोपले एमाले विभाजनको तत्कालीन राजनीतिक पृष्ठभूमिलाई समेत पुनः बहसमा ल्याएको छ।