आईतवार २५ आश्विन, २०८३ (Sunday October 11, 2026)

कांग्रेसको नेतृत्वमा गगन युग, ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

शनिबार २४ आश्विन, २०८३ Bichar Batika 1040


कांग्रेसको नेतृत्वमा गगन युग, ६ हजार ५८४ मतसहित सभापतिमा विजयी

असोज २४, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतान्तरसहित विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
सभापति पदका अर्का उम्मेदवार खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। थापाले खसेको कुल मतको ९३.८८ प्रतिशत मत प्राप्त गर्दा खड्गीको पक्षमा ५.३५ प्रतिशत मत परेको छ। बदर मत ०.७७ प्रतिशत रहेको छ।
निर्वाचन परिणामले कांग्रेसको नेतृत्वमा थापाको बलियो पकड स्थापित गरेको छ। सभापति पदमा प्राप्त यो मतपरिणामले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई नयाँ मोड दिएको छ।
पार्टीको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पछिल्लो समय नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पार्टीको कार्यशैली रूपान्तरणको मुद्दा उठाउँदै आएका थिए। परम्परागत नेतृत्व शैलीमा परिवर्तनको आवश्यकता औँल्याउँदै आएका उनले विशेष महाधिवेशनमार्फत सभापतिको जिम्मेवारी हासिल गरेका हुन्।
थापाको विजयसँगै कांग्रेसले नयाँ नेतृत्व पाएको छ। अब उनको मुख्य चुनौती पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउँदै संगठनलाई प्रभावकारी बनाउनु र आफूले अघि सारेका सुधारका एजेन्डालाई कार्यान्वयनमा लैजानु हुनेछ।
नेतृत्व परिवर्तनको मुद्दासहित सभापतिमा पुगेका थापाका लागि अब पार्टीलाई एकताबद्ध बनाउने, कार्यकर्तामा नयाँ उत्साह सञ्चार गर्ने र बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका प्रभावकारी बनाउने जिम्मेवारी थपिएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु