शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

आज असोज ३ : संविधानको स्मरण, कार्यान्वयनको संकल्प

शनिबार ३ आश्विन, २०८३ Bichar Batika 1095


आज असोज ३ : संविधानको स्मरण, कार्यान्वयनको संकल्प

असाेज ३ काठमाडौं ,नेपालमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइन्छ,२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो।
 नेपालको संविधान २०७२ असोज ३ गते नेपाल राजपत्रमा प्रकाशित भएको आधिकारिक अभिलेखमा उल्लेख छ,नेपालको संविधान जारी हुनु लामो राजनीतिक संक्रमण, विभिन्न आन्दोलन, संघर्ष, त्याग र बलिदानपछि प्राप्त महत्वपूर्ण संवैधानिक उपलब्धिका रूपमा लिइन्छ,संविधानको प्रस्तावनामै नेपाली जनताले लोकतन्त्र, राष्ट्रहित र अग्रगामी परिवर्तनका लागि गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग तथा बलिदानलाई स्मरण गरिएको छ। 
संविधानसभाबाट संविधान जारी
नेपालमा जनप्रतिनिधिमार्फत संविधान निर्माण गर्ने उद्देश्यसहित संविधानसभा निर्वाचन भएको थियो,पहिलो संविधानसभाले संविधान निर्माणको जिम्मेवारी पूरा गर्न नसकेपछि दोस्रो संविधानसभाबाट संविधान निर्माण प्रक्रिया अघि बढेको थियो, त्यसै प्रक्रियाको परिणामस्वरूप २०७२ असोज ३ गते संविधान जारी भयो।
संविधान जारी भएसँगै नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संवैधानिक रूपमा संस्थागत गरेको हो। संविधानले नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ, तीनै तहले संविधान तथा कानूनबमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था संविधानमा गरिएको छ। 
नागरिक अधिकारको संवैधानिक आधार
नेपालको संविधानले नागरिकका मौलिक हक तथा स्वतन्त्रतालाई संवैधानिक संरक्षण दिएको छ। समानता, स्वतन्त्रता, सञ्चार, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय तथा सामाजिक सुरक्षालगायत विभिन्न अधिकारलाई संविधानले मौलिक हकका रूपमा समेटेको छ।
संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई स्वीकार गर्दै विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण गर्ने लक्ष्यसमेत अघि सारेको छ। 
संघीयताको अभ्यास र जिम्मेवारी
संविधान कार्यान्वयनसँगै नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली सञ्चालनमा आएको छ। संविधानले यी तहबीच अधिकारको बाँडफाँटसमेत गरेको छ। संघीय संरचनालाई प्रभावकारी बनाउन तीनै तहबीच सहकार्य, समन्वय र अधिकारको स्पष्ट कार्यान्वयन आवश्यक हुन्छ। नेपाल कानून आयोगका अध्ययनहरूले समेत साझा अधिकारका विषयमा आवश्यक कानून निर्माण र तीनै तहबीच समन्वयको महत्व औँल्याएका छन्। 
संविधानले व्यवस्था गरेका अधिकार र जिम्मेवारीलाई व्यवहारमा उतार्न आवश्यक कानून निर्माण, संस्थागत क्षमता विकास तथा प्रभावकारी सेवा प्रवाह महत्वपूर्ण विषय बनेका छन्। संविधान जारी हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भए पनि त्यसका प्रावधानको प्रभावकारी कार्यान्वयनले मात्र संविधानको वास्तविक उद्देश्य पूरा गर्न सक्ने देखिन्छ।
कार्यान्वयनमै संविधानको सार
संविधानले परिकल्पना गरेको लोकतान्त्रिक व्यवस्था, मौलिक हक, संघीयता, समावेशिता, सामाजिक न्याय र सुशासनलाई व्यवहारमा प्रभावकारी बनाउनु अहिलेको प्रमुख जिम्मेवारी हो,संविधानका व्यवस्था नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी लागू हुन सकेमा मात्रै संविधानप्रतिको जनअपेक्षा सम्बोधन हुने आधार बलियो हुन्छ।
त्यसैले असोज ३ गते संविधान जारी भएको इतिहास सम्झनुका साथै संविधानको मर्म र भावनाअनुसार राज्य सञ्चालन, नागरिक अधिकारको संरक्षण, कानूनी शासन, सुशासन र सामाजिक न्यायलाई व्यवहारमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याउने दिनका रूपमा लिन सकिन्छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु