बिहीबार १ आश्विन, २०८३
असाेज १ काठमाडौँ ,असोज १ गते आज देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ, कलकारखाना, उद्योग, वर्कसप तथा निर्माणस्थलमा प्रयोग हुने औजार, मेसिन, उपकरण र सवारीसाधनको पूजा गरी यो पर्व मनाउने गरिन्छ।
हिन्दू धार्मिक परम्परामा विश्वकर्मालाई देवशिल्पी तथा वास्तुविद्का रूपमा सम्मान गरिन्छ, निर्माण, शिल्प, वास्तु र प्राविधिक ज्ञानसँग जोडिएका विश्वकर्माको सम्झनामा यो पूजा गर्ने परम्परा छ।
विश्वकर्मा पूजाका अवसरमा मेसिन तथा औजार सफा गरी पूजा–आराधना गर्ने र कार्यस्थलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार विश्वकर्माको पूजा गरेमा औजार तथा उपकरण सुरक्षित रहने र काममा सफलता मिल्ने विश्वास छ।
पछिल्लो समय विश्वकर्मा पूजा धार्मिक आस्थासँगै श्रम, सीप, प्रविधि र सिर्जनशीलताको सम्मान गर्ने पर्वका रूपमा समेत मनाइँदै आएको छ। प्राविधिक, कालिगढ, श्रमिक, उद्योगी–व्यवसायी तथा सवारीसाधनसँग सम्बन्धित व्यक्तिहरूले विशेष रूपमा यो पर्व मनाउने गर्छन्।
असोज १ गतेलाई कन्या सङ्क्रान्ति तथा वास्तु दिवसका रूपमा समेत मनाउने गरिन्छ।