शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र, ३ हजार २१ जनाको उद्धार

सोमबार १५ भाद्र, २०८३ Bichar Batika 1195


रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र, ३ हजार २१ जनाको उद्धार

भदाै १५ काठमाडौं, रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ,भदौ १० गतेदेखि सञ्चालन भइरहेको उद्धार अभियानअन्तर्गत हालसम्म ३ हजार २१ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार उद्धार गरिएकामध्ये २०० जनालाई स्थलमार्गबाट तथा २ हजार ८२१ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको हो, हवाई माध्यमबाट उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक रहेका छन्।
उद्धार गरिएका विदेशी नागरिकमध्ये १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन तथा १ ओमानी नागरिक रहेका छन्, भदौ १४ गते मात्रै नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट ६२४ जनाको उद्धार गरिएको थियो,तीमध्ये २२ जना विदेशी नागरिक रहेका थिए, जसमा १५ जना चिनियाँ र ७ जना भारतीय नागरिक छन्।
बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धारसँगै आवश्यक राहत सामग्री पुर्‍याउने कार्यलाई पनि नेपाली सेनाले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ,भदौ १४ गते मित्रराष्ट्र तथा विभिन्न क्षेत्रबाट प्राप्त राहत सामग्री नेपाली सेनाका स्थल तथा हवाई साधनमार्फत काठमाडौं हुँदै त्रिशूलीसम्म पुर्‍याइएको थियो। त्रिशूलीबाट मात्रै करिब ४ हजार ८१० किलो राहत सामग्री धुन्चेलगायत प्रभावित क्षेत्रहरूमा ढुवानी गरिएको सेनाले जनाएको छ।
रसुवाका दुर्गम तथा बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि खोज, उद्धार तथा राहत वितरण कार्य निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु