बुधबार ५ कार्तिक, २०८३ (Wednesday October 21, 2026)

आज महानवमी , सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदै

मंगलवार ४ कार्तिक, २०८३ Bichar Batika 1135


आज  महानवमी , सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदै

कार्तिक ३, काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने महान् पर्व बडादसैँको नवौँ दिन अर्थात् महानवमीका अवसरमा आज आश्विन शुक्ल नवमी तिथिमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। तिथिअनुसार नवौँ दिन भए पनि तिथिकाे घटबढले दिन अनुसार यस वर्ष आज दसौँ दिन परेको छ।
महानवमीका दिन घरघरमा स्थापना गरिएका दसैँघर, देशभरका देवीमन्दिर तथा कोटघरमा दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। दुर्गति नाश र शक्ति प्राप्तिको प्रतीकका रूपमा शक्तिपीठहरूमा विधिपूर्वक बलिपूजा तथा सात्त्विक पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार नवदुर्गाको नवौँ स्वरूप सिद्धिदात्रीलाई सम्पूर्ण सिद्धि प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ। महानवमीका दिन नवकन्यालाई देवीका विभिन्न स्वरूप मानेर पूजा गर्ने चलन पनि छ। नौ कन्यालाई नवदुर्गाका प्रतीकका रूपमा पूजा गरी भोजन गराउने तथा दक्षिणा र वस्त्र प्रदान गर्ने परम्परा रहेको छ।
यस दिन शक्तिपीठहरूमा राँगा, बोका, भेडा, कुखुरा तथा हाँसको बलि दिने चलन छ। सात्त्विक पूजा गर्नेहरूले भने कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूल तथा वनस्पतिजन्य वस्तु देवीलाई अर्पण गर्ने गर्छन्।
शक्ति प्राप्तिका लागि व्यक्ति मात्र नभई राज्यशक्तिले समेत महाशक्तिको आराधना गर्ने परम्परा रहिआएको छ। महानवमीका दिन राज्यशक्तिकी अधिष्ठात्री देवीका रूपमा पूजिने तलेजु भवानीको विशेष पूजा गरिन्छ। काठमाडौंको हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।
काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठ तथा देवीमन्दिरहरूमा पनि आज भक्तजनको चहलपहल बढेको छ। गुह्येश्वरी, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभा भगवती र दक्षिणकालीलगायतका शक्तिपीठमा श्रद्धालुहरू पूजा–आराधनाका लागि पुग्ने गर्छन्। त्यस्तै, तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी र बंगलामुखीलगायतका मन्दिरमा पनि दुर्गा भवानीको पूजा गरिन्छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु