मंगलवार ६ पुष, २०७८
पुस ६, सुदूरपश्चिमका पाँच उत्कृष्ट किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । सुदूरपश्चिमका प्रदेश सरकारले एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो ।
प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सम्मान गरेको हो ।
सुदूरपश्चिमका किसान नेता भिमदत्त पन्तको नामबाट ‘भिमदत्त उत्कृष्ट कृषक पुरस्कार’ वितरण गरिएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।
जोशीले सर्वोत्कृष्ट कृषक कञ्चनपुर भिमदत्त नगरपालिका–१० का केरा खेती किसान पूर्णसिंह साउँद भएको बताए । यस्तै उत्कृष्टको रुपमा पुरस्कृत हुनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का तरकारी कृषक दत्तराम अवस्थी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का गाईपालन कृषक रमेशबहादुर धानुक, डोटीको जोरायल गाउँपालिका–१ का तरकारी कृषक खडकबहादुर मल्ल र डडेल्धुराको आलिताल गाउँपालिका–७ का शोभाकुमारी बोहरा रहेका छन् ।