शुक्रबार १८ असार, २०७८
असार १८, गुल्मी । रेसुङ्गा नगरपालिका-७ मा पर्ने अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन र त्यहाँ पुग्ने आन्तरिक तथा बाहृय पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य ‘सेल्फी’ लिने गरी टावर निर्माण गरिएको छ ।
सेल्फी टावरका लागि भनेर लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार खर्च गरिएको छ ।
कोरोना महामारी नियन्त्रणमा आएपछि टावरको उद्घाटन गरिने रेसुङगा नगरपालिका-७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।
वडाअध्यक्ष पाण्डेका अनुसार टावरबाट एकै पटक २० जनासम्मले अवलोकन गर्न सकिन्छ । टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिने भएको छ ।
यसअघि अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय २० लाख बजेटमा प्रवेश द्वार, पानीको फोहोरासहितको पोखरी, वनभोज जानेहरुको लागि भवन बनाइएको छ । टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएको छ ।
धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताले महत्वपूणर् मानिएको अर्जुन डाँडा करीब २ हजार मिटर उचाइमा रहेको छ ।
बि.सं. १४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ हो भन्ने किंवदन्ती छ । त्यो समयमा भग्नावशेषसमेत भेटिएको बताइन्छ ।
पाँच पाण्डवमध्येका अर्जुनको आगमन टावर निर्माण गरिएको लेकमा भएकोले त्यहाँको नाम अर्जुन राखिएको राखिएको भनाइ छ ।