बुधबार १० मंसिर, २०८३
मंसिर ९, काठमाडौं । अग्न्याशय (प्यान्क्रियाटिक) को क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी देखिएको छ । दैनिक सेवन गर्नुपर्ने डाराक्सोनरासिब नामक औषधि केमोथेरापीसँगै प्रयोग गर्दा अधिकांश बिरामीमा क्यान्सरको ट्युमरको वृद्धि रोकिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
बीबीसीका अनुसार बेलायतका क्यान्सर अनुसन्धान विज्ञहरूले नयाँ औषधिको प्रारम्भिक नतिजालाई उत्साहजनक उपलब्धिका रूपमा लिएका छन् । उक्त औषधिले क्यान्सरको वृद्धि गराउन भूमिका खेल्ने केआरएएस (KRAS) नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरी काम गर्छ ।
चिकित्सकीय परीक्षणमा शरीरका अन्य भागमा समेत फैलिएको अग्न्याशयको क्यान्सर भएका ६१ जना बिरामी सहभागी थिए । उनीहरूलाई डाराक्सोनरासिब औषधिसँगै केमोथेरापी दिइएको थियो । परीक्षणको नतिजाअनुसार ९० प्रतिशत बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको थियो भने ६० प्रतिशतभन्दा बढी बिरामीमा ट्युमरको आकार घटेको वा पूर्ण रूपमा हराएको पाइएको थियो ।
त्यस्तै, परीक्षणमा सहभागी १२ जनामध्ये एक जनाको ट्युमर सिटी स्क्यानमा समेत देखिन छाडेको थियो । यसलाई विशेषज्ञहरूले अग्न्याशयको क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण उपलब्धिमध्ये एकका रूपमा व्याख्या गरेका छन् ।
यद्यपि, चिकित्सकहरूले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने स्पष्ट पारेका छन् । औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ र बिरामीको आयु कति बढाउन सक्छ भन्ने विषयमा थप विस्तृत अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
अग्न्याशयको क्यान्सर प्रायः प्रारम्भिक चरणमा पहिचान गर्न कठिन हुने र पत्ता लाग्दासम्म शरीरका अन्य भागमा फैलिसकेको हुन सक्ने भएकाले यसको उपचार चुनौतीपूर्ण मानिन्छ । यसै कारण यस क्यान्सरबाट प्रभावित बिरामीको बाँच्ने सम्भावना पनि तुलनात्मक रूपमा कम हुने गरेको छ ।
यस्तो अवस्थामा नयाँ औषधिको प्रारम्भिक परीक्षणबाट प्राप्त नतिजाले अग्न्याशयको क्यान्सर उपचारमा नयाँ सम्भावना र आशा जगाएको छ । यद्यपि, यसको प्रभावकारिता र दीर्घकालीन सुरक्षाबारे थप अनुसन्धानपछि मात्रै उपचारमा यसको व्यापक प्रयोगबारे निष्कर्ष निकाल्न सकिनेछ ।