बिहीबार १३ कार्तिक, २०८३
कार्तिक १२ काठमाडौं । नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखाद्वारा सञ्चालन हुँदै आएको दैनिक रक्तदान कार्यक्रमले एक वर्ष पूरा गरेको छ। प्रथम वार्षिकोत्सवका अवसरमा नियमित रूपमा रक्तदान गर्दै मानव जीवन रक्षामा योगदान पुर्याउने रक्तदाताहरूलाई सम्मान गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखाको आयोजना, सर्वहित नेपाल, चन्द्र सूर्य पुस्तकालय, महादेव मखन क्लब तथा पुरानो बानेश्वर टोलवासी संस्थाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस अभियानले रगतको अभावमा रहेका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साथै, रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदानमार्फत मानवीय सेवामा सहभागी हुन सर्वसाधारणलाई प्रेरित गरेको छ।

कार्यक्रमलाई एक वर्षसम्म निरन्तरता दिन सहयोग पुर्याउने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सहयोगी संस्था तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्ने महानुभावहरूप्रति आयोजकले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको भावनालाई आत्मसात् गर्दै अघि बढाइएको यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
नियमित रक्तदानलाई सामाजिक सेवाको अभिन्न अङ्गका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालित यस कार्यक्रमले आगामी दिनमा समेत रक्तदान संस्कृतिको विकास र बिरामीलाई आवश्यक रगतको उपलब्धतामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।