बुधबार १४ आश्विन, २०८३ (Wednesday September 30, 2026)

अविरल वर्षाले राजमार्गमा कहर : सात राष्ट्रिय सडक अवरुद्ध, यात्रु अलपत्र

सोमबार १२ आश्विन, २०८३ Bichar Batika 1430


अविरल वर्षाले राजमार्गमा कहर : सात राष्ट्रिय सडक अवरुद्ध, यात्रु अलपत्र

असोज १२  काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वीराजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।
धादिङको गजुरी–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा पहिरो र लेदो खसेको छ। सडक खुलाउन डोजरलगायतका उपकरण प्रयोग गरी काम भइरहेको भए पनि थप वर्षा भए पुनः पहिरो खस्ने जोखिम रहेको ट्राफिक प्रहरीले जनाएको छ। पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
यस्तै, बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जेलगायत स्थानमा पहिरो र बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। कान्तिलोकपथको ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पनि पहिरो हटाउने काम जारी छ।
दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन र टाटा सुमो सञ्चालनमा रहे पनि ठूला सवारीलाई त्रिभुवन राजपथ हुँदै चलाउने व्यवस्था गरिएको छ। सडकमा सवारीको चाप, मौसम र अवस्थाअनुसार आलोपालो सञ्चालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
लगातार वर्षाका कारण पहाडी सडकमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न, सडकको अवस्था बुझेर मात्र हिँड्न र अवरुद्ध सडक जबर्जस्ती पार नगर्न ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु