मंगलवार १९ आश्विन, २०७८
असोज १९, फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाएका छन् । सोमबार राति संसारभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै अरु सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छाडेका थिए ।
यो क्रम लगभग छ घन्टा चल्यो । झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट÷एपले काम गर्न थालेको जनाएको छ ।
फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।
ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।
सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।