आईतवार ३० कार्तिक, २०८३
कार्तिक २९, काठमाडौं । सूर्यदेवको आराधना, उपासना र पूजाआजा गरी मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
छठ पर्वको मुख्य दिन व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, तलाउ, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। यस अवसरमा सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गरिन्छ।
ऐतिहासिक तथा पौराणिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालसँग पनि जोडिएको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेका थिए। लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको मानिन्छ।
त्यसैगरी, सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। यही घटनापछि छठ पर्व मनाउने परम्परा सुरु भएको मान्यता पनि रहेको छ।
सूर्यलाई सम्पूर्ण सृष्टिको आधार मानिन्छ। सूर्यको प्रकाश र तापबिना वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव नहुने भएकाले यस पर्वमा सूर्यदेवको विशेष पूजा आराधना गरिन्छ। सूर्यको किरणबाट विभिन्न रोगको उपचार सम्भव हुने विश्वासका कारण पनि सूर्य उपासनालाई महत्त्वपूर्ण मानिँदै आएको छ।
पौराणिक कथाअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्ब महर्षि दुर्वासाको श्रापका कारण कुष्ठरोगबाट पीडित भएका थिए। सूर्यदेवको आराधना गरेपछि उनी रोगमुक्त भएको प्रसङ्ग पनि पुराणमा उल्लेख छ।
छठ पर्वमा व्रत बसे दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास छ। यस पर्वमा केरा, उखु, नरिवललगायत विभिन्न फलफूल तथा प्रसाद सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ। झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालुका परिवार तथा सन्तानको कल्याण हुने विश्वास गरिन्छ।
विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि श्रद्धा र उल्लासपूर्वक मनाउन थालिएको छ।