सोमबार १९ आश्विन, २०८३ (Monday October 05, 2026)

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको कडा प्रतिवाद, ‘तथ्य र प्रमाणबिनाको अभिव्यक्ति’

आईतवार १८ आश्विन, २०८३ Bichar Batika 1101


सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको कडा प्रतिवाद, ‘तथ्य र प्रमाणबिनाको अभिव्यक्ति’

असाेज १८ वीरगञ्ज । प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका विषयमा संसद्मा उठाएका आरोपप्रति कलेज प्रशासनले कडा आपत्ति जनाएको छ। कलेजले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद अन्सारीका अभिव्यक्ति तथ्यहीन, अप्रमाणित तथा भ्रम सिर्जना गर्ने खालका रहेको दाबी गरेको हो।
स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै सांसद अन्सारीले प्रतिनिधिसभाको बैठकमा कलेजको व्यवस्थापन तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। त्यसको जवाफमा कलेजले आरोप पुष्टि हुने गरी कुनै पनि नियामक वा सरकारी निकायबाट आधिकारिक निष्कर्ष नआएको स्पष्ट पारेको छ।
कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठद्वारा जारी विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख छ। कलेजका अनुसार संस्था चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको अनुगमन तथा नियमनअन्तर्गत सञ्चालन हुँदै आएको छ।
कलेजले आफूमाथि उठेका विषयको निष्पक्ष, तथ्यमा आधारित र पारदर्शी परीक्षणका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। आवश्यक परे सम्बन्धित निकायलाई संस्थासँग रहेका अभिलेख, कागजात तथा विवरण उपलब्ध गराउने प्रतिबद्धता पनि कलेजले व्यक्त गरेको छ।
विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाण, दस्तावेज र अधिकारप्राप्त निकायको आधिकारिक निष्कर्षमा आधारित हुनुपर्नेमा जोड दिइएको छ। प्रमाणबिनाका आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र संस्थाप्रति अविश्वास बढाउन सक्ने कलेजको भनाइ छ।
करिब २५ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै कलेजले शैक्षिक गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको हित तथा नियामकीय मापदण्डको पालनामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
कलेजले सांसद अन्सारीले उठाएका विषयलाई प्रमाण र आधिकारिक परीक्षणबाट टुंगो लगाउन आफू तयार रहेको भन्दै आरोप पुष्टि भए तथ्यका आधारमा जवाफदेही बन्ने र पुष्टि नभएका आरोपको प्रतिवाद गर्ने संकेतसमेत दिएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु