आईतवार १८ आश्विन, २०८३
असाेज १८ काठमाडौं । चाडबाड नजिकिएसँगै बजारमा नगद कारोबार बढ्न थालेपछि नक्कली नोटको जोखिम पनि बढेको छ। पछिल्लो समय विशेषगरी ५ सय र १ हजार रुपैयाँ दरका नक्कली नोट कारोबारमा प्रयोग हुन थालेका घटना देखिन थालेका छन्।
दैनिक उपभोग्य वस्तु खरिद गर्दा फिर्ता आउने रकममा नक्कली नोट मिसिने तथा डिजिटल भुक्तानीपछि त्यसको बदलामा नगद लिने क्रममा समेत नक्कली नोट प्रयोग हुने गरेको पाइएको छ।
केही दिनअघि काठमाडौंको कपनस्थित एक कस्मेटिक पसलमा अनलाइनमार्फत १ हजार रुपैयाँ भुक्तानी गरी सोही रकम नगद लिने क्रममा नक्कली नोट प्रयोग भएको आशंका गरिएको घटना बाहिरिएको थियो।
दशैं–तिहारजस्ता ठूला पर्वमा किनमेल, यातायात तथा विभिन्न सेवामा नगद कारोबार बढ्ने भएकाले सर्वसाधारण र व्यवसायी दुवैलाई नोटको वैधता जाँच गर्न आग्रह गरिएको छ। नेपाल राष्ट्र बैंकले पनि नोटका सुरक्षा विशेषता पहिचान गरी कारोबार गर्न पटक–पटक सचेत गराउँदै आएको छ।

नक्कली नोट छुट्याउने ६ सजिला उपाय
१. पानीछाप हेर्नुहोस् : उज्यालोमा राख्दा नोटभित्रै रहेको राजा जनकको चित्रसहितको पानीछाप स्पष्ट देखिन्छ।
२. सुरक्षा धागो जाँच गर्नुहोस् : प्रकाशमा हेर्दा नोटको सुरक्षा धागो स्पष्ट देखिनुपर्छ।
३. नोट छाम्नुहोस् : सक्कली नोटका अक्षर, अंक तथा केही चिह्न उठेको छपाइका कारण छाम्दा फरक महसुस हुन्छ।
४. छपाइ र रंग हेर्नुहोस् : अक्षर, अंक, चित्र तथा रेखाहरू स्पष्ट हुनुपर्छ। धमिलो वा अस्वाभाविक रंग देखिएमा सावधान हुनुपर्छ।
५. प्रकाशमा जाँच गर्नुहोस् : नोटलाई उज्यालोतर्फ राखेर पानीछाप, सुरक्षा धागोलगायतका विशेषता परीक्षण गर्न सकिन्छ।
६. डिजाइन र अंक मिलाउनुहोस् : नोटको अगाडि–पछाडिको अंक, चित्र, अक्षर र डिजाइन वास्तविक नोटसँग तुलना गर्नुहोस्।
नक्कली नोटको शंका लागेमा त्यसलाई पुनः बजारमा चलाउनु हुँदैन। सम्बन्धित बैंक वा निकायलाई जानकारी गराएर आवश्यक प्रक्रिया अघि बढाउनु उचित हुन्छ। चाडबाडको किनमेल बढेसँगै नगद कारोबार गर्दा केही क्षण छुट्याएर नोट जाँच गर्नाले सम्भावित आर्थिक क्षतिबाट बच्न सकिन्छ।