बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

बिहीबार १८ भाद्र, २०८३ Bichar Batika 1080


क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

भदौ  १८ काठमाडौं,वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे विस्तृत समीक्षा गरेको जनाएको छ,क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गर्नुभएको थियो।
साधारणसभामा संस्थाका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार, सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा कर्मचारी गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो। समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभएको थियो।
त्यस्तै, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराउनुभएको थियो।
साधारणसभामा सदस्य तथा सरोकारवालाबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा समेत छलफल भएको थियो। आर्थिक तथा वित्तीय लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले संस्थाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा शुभेच्छुक तथा साझेदार संस्थाका तर्फबाट गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, ICIMOD की Intervention Manager Erica Udas, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा कम्युनिटी इन्फर्मेसन नेटवर्क (CIN) का पत्रकार लिलप्रकाश चन्दले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
उहाँहरूले वातावरणीय चुनौती समाधानका लागि स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
साधारणसभाका अवसरमा क्लिन अप नेपालले संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग, सहकार्य र योगदान पुर्‍याउँदै आएका विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनोसमेत प्रदान गरेको थियो।
क्लिन अप नेपालले आगामी दिनमा पनि संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता तथा उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन तथा उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई थप विस्तार गरिने बताउनुभयो।
साधारणसभाको समापनमा संस्थाले आफूलाई निरन्तर विश्वास, सहयोग र सहकार्य प्रदान गर्ने साधारण सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सहयोगी संस्था, निजी क्षेत्र, साझेदार संस्था, समुदाय, स्वयंसेवक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु