बुधबार ६ जेष्ठ, २०८३
जेष्ठ ६ काठमाडौं , श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा प्रकाशित च्याङ्बाको चेतना विशेषाङ्क–सम्झना को हिजाे जेष्ठ ५ गते अनामनगरस्थित डालो रेष्टुरेन्टमा साहित्यिक पत्रकार संघ तथा जरा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा ?एक कार्यक्रमकाे आयाेजना गरि लाेकार्पण गरिएकाे थियाे ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व, साहित्यकार दिव्य गिरीले गरेकाे सञ्चालन तथा प्रा. डा. सुरेन्द्र केसी प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा कलकत्ताका पूर्व महावाणिज्यदूत सुनिलकुमार पौड्याल, सामाजिक तथा धार्मिक अभियन्ता धर्मराज बराल, संघका व्यवस्थापक तथा समाजसेवी भीमबहादुर श्रेष्ठ, ‘सम्झना’का प्रधान सम्पादक गणेशकुमार प्रधान, परराष्ट्रविद् तथा जरा फाउन्डेसनका सल्लाहकार नारायण मैनाली, व्यवस्थापक गुञ्जदास श्रेष्ठ तथा गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र केसीले नेपालीहरू जहाँ पुगे पनि आफ्नो परम्परा, संस्कृति र धर्मप्रति प्रतिबद्ध रहने बताउनु हुँदै कलकत्ता र दार्जिलिङका नेपालीहरूबीच भाषिक तथा धार्मिक एकता कायम रहेको उल्लेख गर्दै आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएकाे थियाे ।
लाेकार्पण कार्यक्रममा सभापति लेकालीले कलकत्ताबाट आएका सामाजिक तथा धार्मिक अभियन्ताहरूलाई स्वागत गर्दै जरा फाउन्डेसन तथा साहित्यिक पत्रकार संघको संयुक्त आयोजीत लाेकार्पण कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे भने च्याङ्बाको चेतना’ नाटकका लेखक गणेशकुमार प्रधानले आफ्नो लेखन तथा निर्देशन यात्राबारे चर्चा गर्दै कलकत्तामा संघले गर्दै आएका सामाजिक तथा धार्मिक गतिविधिहरूको जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा आनन्द कार्की, धर्मराज बराल, फत्तकुमार श्रेष्ठ, दिर्घकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, टिकादास श्रेष्ठ, डा. योगेश वैद्य, हिमनाथ पौडेल, ‘शृङ्खला’का सम्पादक प्रवीण जोशी तथा शारदा मासिकका प्रधान सम्पादक विमल भौकाजीलाई सम्मानपत्र द्वारा सम्मान समेत गरिएकाे थियाे ।
तस्बिर :- खिल बहादुर श्रेष्ठ ,