मंगलवार १० भाद्र, २०८२
भदाै १० काठमाडौं , आज हरितालिका तीज पशुपतिमा दर्शन गर्न आउने भक्तजनका लागि आज बिहानै देखि मूल मन्दिरका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तीजका अवसरमा श्रीपशुपतिनाथको दर्शन गर्न आउने हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथकाे चारै ढोका बिहानै देखि खुल्ला गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
दर्शन गर्न आउने भक्तजनहरूकाे लागि पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाईनकाे व्यवस्था गरिएको छ ।गाैरीघाट तिर बाट आउने भक्तजनहरूकाे लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
चावहिल मित्रपार्क बाट आउने भक्तजनहरूकाे लागि मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
गाैसला पिङ्गलास्थान तिर बाट आउने भक्तजनहरूकाे लागि पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तिलगंङ्गा तिर बाट आउने भक्तजनको लागि तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लाईनकाे व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिए ।
पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।