मंगलवार २१ मंसिर, २०७८
मंसिर २१, काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोभिड–१९ बाट संक्रमित मानिसको उपचारका क्रममा निको भएका संक्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न आग्रह गरेका छन् ।
संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेका कारण डब्ल्यूएचओले कोभिड–१९ मुक्त व्यक्तिको ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टीआरटी वर्ल्डले जनाएको हो ।
डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने समेत बताएको छ ।
डब्ल्यूएचओका अनुसार अन्तर्राष्ट्रिय विज्ञको एक प्यानलले सामान्य तथा गम्भीर दुवै खाले कोभिड संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर्ने सुझाव दिएका छन् । सामान्य, गम्भीर र अति गम्भीर झण्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।
विज्ञहरूको सुझाव ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित गरिएको हो ।
प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमानका आधारमा कोभिड–१९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको छ ।