आईतवार ३ आश्विन, २०७८
असोज ३, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गरेको छ ।
नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।
शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् ।
आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए । त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे ।
ओडिआईमा नेपालले अहिलेसम्म ओमानसँग ३ खेल खेलेको छ । तर तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।