शनिबार १ कार्तिक, २०८३
असोज ३१, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहणपछि शनिबार पदभार ग्रहण गर्नुभएको छ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। शपथ ग्रहणलगत्तै थापाले पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नुभएको हो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न निर्वाचनमा थापा सभापतिमा निर्वाचित हुनुभएको थियो। उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको नेतृत्वमा पुग्नुभएको हो।
थापाको नेतृत्वसँगै नेपाली कांग्रेसको नेतृत्व तहमा नयाँ पुस्ताको आगमन भएको छ। उहाँको चयनलाई पार्टीमा पुस्तान्तरण र संगठनात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
पदभार ग्रहणपछि सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा, गतिशीलता र नीतिगत स्पष्टतासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत सुधार तथा समसामयिक राजनीतिक चुनौतीको सामना कसरी गर्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।