बिहीबार २२ आश्विन, २०८३ (Thursday October 08, 2026)

काम गर्ने वातावरण रहेन’ भन्दै गोठगाउँका वडा अध्यक्ष खत्रीले दिए राजीनामा

बुधबार २१ आश्विन, २०८३ Bichar Batika 1416


काम गर्ने वातावरण रहेन’ भन्दै गोठगाउँका वडा अध्यक्ष खत्रीले दिए राजीनामा

असाेज २१ रामेछाप । रामेछाप नगरपालिका–१ (गोठगाउँ) का वडा अध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल असाेज २१ गते रामेछाप नगरपालिकाका नगर प्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
खत्रीले नगरपालिकाको कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखाइएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। निर्वाचित जनप्रतिनिधिका रूपमा वडावासीका आवश्यकता र स्थानीय समस्यालाई प्राथमिकतामा राखेर प्रभावकारी ढङ्गले काम गर्ने वातावरण असहज बन्दै गएको खत्रीले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
खत्रीको अनुसार वडाका आवश्यकता र विकासका मुद्दालाई प्राथमिकतामा राख्नुको साटो कतिपय विषयमा बहुमत र अल्पमतका आधारमा व्यवहार हुने गरेको छ। विकास निर्माणका विषयमा समेत समान दृष्टिकोण कायम हुन नसकेको उनको गुनासो छ।
त्यस्तै, व्यक्तिगत असहमति, पूर्वाग्रह तथा आन्तरिक मतभेदका कारण वडावासीका अपेक्षा र आफूले गरेका प्रतिबद्धताअनुसार काम गर्न कठिन अवस्था सिर्जना भएको खत्रीले बताएका छन्। यस्तो परिस्थितिमा पदमा निरन्तर रहिरहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षमा पुगेपछि राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
राजीनामा दिए पनि गोठगाउँ तथा समग्र रामेछापको विकास, सुशासन र सामाजिक न्यायका पक्षमा आफ्नो भूमिका निरन्तर रहने प्रतिबद्धता खत्रीले व्यक्त गरेका छन्।
उनले आफ्नो कार्यकालमा सहयोग गर्ने नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दल तथा सम्पूर्ण वडावासीप्रति धन्यवाद व्यक्त गर्दै राजीनामा स्वीकृतिका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।
खत्रीको राजीनामासँगै रामेछाप नगरपालिका–१ को आगामी नेतृत्व र नगरपालिकाको कार्यशैलीबारे स्थानीय तहमा थप बहस सुरु हुने देखिएको छ।


​




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु