आईतवार २८ भाद्र, २०८३
भदौ २८ काठमाडौं ,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने तथा स्वतन्त्र प्रेसलाई संकटमा पार्ने कुनै पनि नीति वा निर्णय स्वीकार्य नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था र छापा सञ्चारमाध्यमले भोगिरहेका समस्याबारे बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै थापाले प्रेसको संकटलाई पत्रकारको मात्र पेशागत समस्या ठान्न नहुने बताए ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यदल संयोजक दामोदरप्रसाद दवाडी नेतृत्वको टोलीसँगको छलफलमा थापाले प्रेस स्वतन्त्रता लोकतन्त्रकै आधारभूत विषय भएकाले यसको संरक्षण लोकतान्त्रिक दलको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे ।
‘यो तपाईंहरूको पेशागत समस्याको कुरा होला, तर कांग्रेसका लागि लोकतान्त्रिक प्रतिष्ठासँग जोडिएको विषय हो,’ थापाले भने, ‘प्रेसमाथि समस्या आउँदा त्यसको असर समग्र लोकतान्त्रिक प्रणालीमै पर्छ भन्ने कुरा बिर्सनु हुँदैन ।’
उनले प्रजातन्त्र पुनःस्थापनामा छापा सञ्चारमाध्यमले खेलेको भूमिकालाई स्मरण गर्दै आर्थिक रूपमा कमजोर सञ्चारमाध्यमलाई थप संकटमा पार्ने नीतिको पुनर्विचार आवश्यक रहेको बताए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई पार्टीले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमाध्यम कमजोर हुँदा लोकतान्त्रिक अभ्याससमेत प्रभावित हुने बताउनु भयाे ।

कार्यदलले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने गरी संशोधन गरिएको कार्यविधि खारेज गर्नुपर्ने, निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि सञ्चारमाध्यमलाई निरुत्साहित वा कमजोर बनाउने कुनै पनि नीति प्रेस स्वतन्त्रता र लोकतन्त्रको हितमा नहुने निष्कर्ष निकालेको छ । बैठकले लोककल्याणकारी विज्ञापनसम्बन्धी परिवर्तन पुनरावलोकन गर्दै सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र समान बनाउन सरकारसँग माग गरेको छ