बिहीबार १० बैशाख, २०८३
बैशाख १० काठमाडौँ , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनकाे बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ ।
बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी, नेपालका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सदस्य रहेका छन् ।
कार्यदलको सदस्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने अहिलेसम्म आफ्नो सदस्य पठाएको छैन ।