मंगलवार २७ पुष, २०७८
पुस २७, काठमाडौं । नेपाली कांग्रेसका मन्त्री गगनकुमार थापाले सन्ततिहरुले गरेको कामको आधारमा पृथ्वीनारायण शाहको मूल्यांकन गर्नु हुँदैन भन्ने बताएका छन् ।
आज पृथ्वीजयन्तीको दिन सामाजिक सन्जाल फेसबुक मार्फत थापाले पृथ्वीनारायण शाहकै कारण नेपालको अहिलेको भौगोलिक इकाई प्राप्त भएको भन्दै उनलाई राष्ट्र निर्माणको पहिलो चरणको कर्ता भनेका छन् ।
‘पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ’ महामन्त्री थापाले लेखेका छन् ।
पृथ्वीनारायण शाहको अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक इकाइ दिएको भन्दै उनले राष्ट्र निर्माणको पहिलो चरण भौगोलिक एकीकरण नै भएको बताए ।
उनले अहिलेका घटनाक्रमबाट पृथ्वीनारायण शाहलाई मूल्यांकन गर्नु न्यायसंगत नहुने पनि बताए । ‘हामीले कहिलेकाहीं तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ’ थापाले भनेका छन्, ‘त्यसैले त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङ्कन गर्नुपर्छ ।’