सोमबार २९ भाद्र, २०८३
भदौ २९ काठमाडौं ,नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ, भगवान् शिवको पूजा–आराधना गर्दै महिलाहरूले आफ्नो तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गरि व्रत बस्ने परम्परा छ।
तीजको अघिल्लो दिन महिलाहरूले दर खाने तथा तीजका गीत–संगीतमा रमाउने गर्छन्,तीजका दिन भने बिहानैदेखि स्नान गरी नयाँ तथा आकर्षक पहिरनमा सजिएर शिवालय तथा विभिन्न धार्मिकस्थलमा पुग्ने, पूजा–आराधना गर्ने र व्रत बस्ने चलन छ।
हरितालिका तीजलाई विवाहित महिलाले श्रीमानको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्ने तथा अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै व्रत बस्ने पर्वका रूपमा लिइन्छ,यद्यपि पछिल्लो समय तीज धार्मिक आस्थासँगै महिला अधिकार, सामाजिक सद्भाव, आपसी भेटघाट र सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत विकसित हुँदै गएको छ।
देशका विभिन्न शिवालयमा तीजको अवसरमा विशेष पूजा, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाेरञ्जन गर्ने चलन छ, काठमाडौंको पशुपतिनाथलगायत प्रमुख शिवालयमा दर्शन तथा पूजा गर्न भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।
तीजले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक प्रेम, आपसी सद्भाव र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ,पछिल्लो समय भने तीज मनाउने क्रममा हुने अनावश्यक खर्च र देखासिकीलाई निरुत्साहित गर्दै सामाजिक तथा सांस्कृतिक मर्यादा कायम राखेर पर्व मनाउनुपर्ने आवाज पनि उठ्दै आएको छ।