आईतवार २८ भाद्र, २०८३
भदौ २८ जनकपुरधाम ,आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ।
मोर्चाका नेता तथा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले शनिबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा साझा चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी भइरहेको बताए।

उनले साझा चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुनु केवल चुनावी तालमेल नभई भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान भएको बताए।
अन्सारीले विभाजित प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गरी राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो, मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन्।

मोर्चाले आगामी निर्वाचनलाई राजनीतिक शक्तिको पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिने जनाएको छ।