शुक्रबार २६ भाद्र, २०८३
भदौ २६ काठमाडौं, अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलिया (AIWIBI AUSTRALIA) का डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकमलाई आधार बनाएर तीन दिनमा उक्त रकम संकलन गरिएको कम्पनीले जनाएको छ । सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण गर्दै आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोग गर्न पाएकोमा गौरव महसुस भएको बताइन् । उनले उपभोक्ता, रिटेलर र डिलरहरूको साथ र विश्वासका कारण छोटो समयमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको उल्लेख गरिन् ।
सर्राफले यो सहयोग आईविवीको मात्र नभई उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको समेत योगदान भएको बताइन् । उनका अनुसार पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिदमा उपभोक्ताले खर्च गरेको रकमलाई आधार बनाएर राहत रकम जुटाइएको हो ।
उनले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोडेर राहत अभियान सञ्चालन गरिएको बताइन् ।