बिहीबार १८ भाद्र, २०८३
भदौ १८ सल्यान, विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सल्यानका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर उदाहरणीय मानवीय कार्य गरेका छन्।
शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले खाजा खर्चबाट बचाएको रकम सङ्कलन गरी भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका हुन्।
विद्यार्थीले विद्यालयमै रकम सङ्कलन गर्नुका साथै विद्यालय पोसाकमै खलङ्गा र साहुटोल बजार क्षेत्रमा पुगेर सहयोग जुटाएका थिए, बाल क्लबमा आबद्ध विद्यार्थीको सक्रियतामा साहुटोल बजार क्षेत्रबाट मात्रै २७ हजार ९६५ रुपैयाँ सङ्कलन भएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ सङ्कलन भएको छ, विद्यालयको तर्फबाट ३३ हजार ८२० रुपैयाँ तथा शिक्षक–कर्मचारीबाट ३८ हजार पाँच रुपैयाँ सहयोग थपिएको छ,साहुटोल बजार क्षेत्रबाट सङ्कलित रकमसमेत गरी कुल १ लाख २८ हजार ८०५ रुपैयाँ सङ्कलन भएको विद्यालयले जनाएको छ।
विद्यालय सञ्चालक महेश देवकोटाले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभयो।
विद्यार्थीको सक्रियताले सानै उमेरदेखि मानवीय सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनु हुदै सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सञ्चालक देवकोटाले जानकारी दिनुभयो।