शनिबार ११ श्रावण, २०८२
साउन १० ठाेरी (पर्सा) , खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ ।
हिजाे पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसंकटकाे सामना गरिरहेका बताउनुभयो ।
“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” मन्त्री यादवले भन्नुभयो, “खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको बताउनु हुँदै मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफु सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराउनुभयो ।
मन्त्री यादवले आफुले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
मन्त्री यादवले यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएकोले दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न समेत आग्रह गर्नु भयाे ।
मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको संकट अन्त्यको लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मुल प्रतिविम्ब भएको दाबी गर्नु हुँद यो आयोजना केवल पाइपलाइन, पम्प हाउस वा ट्याङ्कीको संरचना निर्माण मात्रै होइन, नागरिकलाई नियमित, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति गर्ने आयोजना रहेकाे समेत जानकारी गराउनु भयाे ।
यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठको अनुसार ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेजअहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागीता रहेको थियो ।