सोमबार ३० चैत्र, २०७७
चैत ३०, रौतहट । छिमेकी मुलुक भारतमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर तीव्र रुपमा फैलिए पछि प्रत्येक दिन रौतहटको सीमा क्षेत्र भएर सयौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिरहेका छन् ।
भारतका विभिन्न शहरमा रोजगारीको खोजीमा गएका नेपालीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् । सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकजाँच गर्ने कुनै व्यवस्था भने गरिएको छैन ।
भारतका विभिन्न शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्किने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएकोले सिमा नाकामा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
‘भारतबाट फर्कनेहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको छ ।’
खुल्ला नाकाको कारण स्थानीयहरु अरु नै बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए ।