बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

रसुवाका बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बिहीबार ११ भाद्र, २०८३ Bichar Batika 1205


रसुवाका बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

भदौ  ११ काठमाडौं , रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न सरकारसँग आग्रह गरेको छ।
महासंघले बाढीका कारण बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यावसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ। कतिपय नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन महासंघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन महासंघले अपिल गरेको छ।
आगामी दिनमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा व्यावसायिक क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना गर्नुका साथै विपद् जोखिम न्यूनीकरणका कार्यक्रम लागू गर्नुपर्ने महासंघले जनाएको छ।
राहत तथा पुनर्स्थापनाका कार्यमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न महासंघका प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी र प्रतिनिधिसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई आग्रह गरिएको छ।
महासंघले विपद्को यस घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।
साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता महासंघले व्यक्त गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु