शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

आजदेखि नयाँ नोट साट्न पाइने

सोमबार ४ आश्विन, २०७८ विचारवाटिका 2416


आजदेखि नयाँ नोट साट्न पाइने

असोज ४, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । ‘विगतका केही वर्षको ट्रेण्ड हेर्दा हरेक वर्ष ३० देखि ३५ अर्ब रुपैयाँ हामीले वितरण गर्ने गरेका छौं, यस वर्ष पनि हाम्रो तयारी यस्तै छ,’ उनले भने, ‘१२ देखि १५ अर्ब रुपैयाँ साना दरका नोट साटिन्छ त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा जानेछन् ।’

कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु