बिहीबार २ आश्विन, २०७६ (Thursday September 19, 2019)

सुन्दरी प्रतियोगितामा नश्लवाद

बिहीबार ३ माघ, २०७५ विचारवाटिका 2402

सचिन घिमिरे

संसारभरका सुन्दरी प्रतियोगिताहरु देखावटी बौद्धिकताको लेपनमा अन्तत्वगत्वा नारीहरुको नाङ्गो छालाको आडमा नाफा कमाउन गरिने व्यापार हो भन्न अनकनाउनु पर्ने कुनै कारण छैन । नेपालमा पनि सुन्दरी प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरुको समग्र व्यक्तिको मुल्याङ्कनभन्दा पनि छालाको रङ्ग, बाहिरी आवरणको मुलायमता र शरिरको जैविक उचाइ नै छनौट प्रतियोगिताको प्रधान आधारहरुकोरुपमा देखा परिरहेको हुन्छ । यस अवस्थामा, मिस नेपाल जस्तो साझा पदावली प्रयोग गरेर प्रभुत्वशाली वर्गको विचार, संस्कृति र मान्यताहरुलाई समाजमा आम मान्यताकोरुपमा स्थापित गर्न आमसञ्चारले पनि महत्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ । एकाधिकार पूँजीवादको विस्तारकोलागि उपभोक्तावादी संस्कृतिको विकासले ठूलो भूमिका खेल्ने हुनाले जति बढि उत्पादनको माग बढ्दै गयो उति नाफाको सञ्चित दर बढ्दै जान्छ । नाफा बढ्दै गएपछि कर्पोरेट हाउसहरुको सहयोगमा सुन्दरी प्रतियोगिताको तयारीको नाममा महिनौं लामो छालामा निखार लेराउने प्रशिक्षणमा लगानी गरेर कलिलो मष्तिष्कलाइ एकोहोरो बनाउने काम गरिन्छ । बन्द प्रशिक्षणपश्चात् उपभोक्तावादी विचारहरुले एकोहोरिएका मनमष्तिष्कहरुले वैकल्पिक तर्कहरु सुनेर आलोचनात्मक चेतको विकास गर्ने सम्भावना न्यून हुँदै जान्छ । फलस्वरुप, सुन्दरता भनेको गोरो, अग्लो र चिल्लो छाला मात्र हो भन्ने धारणाले स्थान बनाउँदै जाने र यी मानकहरुमा नपर्नेहरुले आफूलाई नराम्रो पो रहेछु भन्ने लघुताभाषमा जिवन बिताउन पर्ने अवस्थाको सिर्जना गरिदिन्छ । एक स्वस्थ मानिसले आफूलाई कुरुप वा नराम्रो सोच्ने अवस्थामा पुर्‍याउनको लागि उपभोक्तावादी संस्कृतिसँग आमसञ्चारले गाँसेको नाफामूलक गठबन्धन मूलरुपले जिम्मेवार भएको देखिन्छ । तसर्थ, कर्पोरेट दुनियासँगको अर्थराजनीतिक साँठगाँठको कारण आमसञ्चारले जनमानसमा मानसिक लघुताभाष सिर्जना गरेर विभेदको सस्ंकृतिको उत्पादन र पुर्नउत्पादन गर्ने कार्यमा पक्षपोषण गरिरहेकोे यथार्थ जगजाहेर छ । 

यस प्रकृयामा दर्शक र पाठकहरुको मनोवैज्ञानिक अन्तरविरोध बुझेर नाङ्गो छालाको प्रस्तुतिलाई बढि जोड दिने अनि छाला सुन्दर भएपछि उत्कृष्ट व्यक्तित्व भइन्छ भनेर समाजमा झूठो चेतना फैलाउन आमसञ्चारको ठूलो भूमिका रहन्छ ।

सञ्चार माध्यामलाई टिकाउन सहयोग गर्ने लगानीकर्ताहरुको स्वार्थले विचार सम्प्रेषणमा प्रभाव र हस्तक्षेप गरिरहने हुनाले जहिले पनि आमसञ्चारको स्वायत्ततामा प्रश्न चिन्ह उठिरहन्छ । आमसञ्चारलाई स्वायत्त संस्था भनेर दावा गरिए पनि लगानीकर्ताहरुको स्वार्थले विचार सम्प्रेषणमा प्रभाव र हस्तक्षेप गरिरहने हुनाले आमसञ्चारले पालेको स्वायत्तता मूलतः भ्रामक स्वायत्तताकोरुपमा नै प्रतिविम्वित भएको हुन्छ । सुन्दरी प्रतियोगिता आयोजना गर्ने व्यापारीहरुले ठूला सञ्चार माध्यामहरुमा विज्ञापनहरु प्रशस्त दिने हुनाले सञ्चार माध्याम टिकाउने व्यापारीहरुको स्वार्थ अनुसार मिस नेपालजस्तो एकाधिकार संस्कृतिको प्रचारप्रसार गर्नुपर्ने वाध्यता आउनु नौलो कुरा अवश्य होइन । नाफाको एकाधिकारको बजारमा जसले जुन स्वार्थले प्रतियोगिता आयोजना गर्दछ उसले जबरजस्त तरिकाले लादेको मान्यता नै केन्द्रीय, यथोचित, प्राकृतिक र अन्तिम सोचकोरुपमा स्थापित हुन्छ । सुन्दरी प्रतियोगिताको विरोधमा आउने वैकल्पिक आवाजहरु सधैं ओझेलमा पर्दछन् । आर्थिक तत्वहरुले संस्कृति र विचारको प्रस्तुतिलाइ टेको लगाएपछि श्रोत, सत्ता र शक्तिमा कब्जा हुनेहरुको नै एकोहोरो वर्चस्व स्थापित हुँदै जान्छ । यस प्रकृयामा दर्शक र पाठकहरुको मनोवैज्ञानिक अन्तरविरोध बुझेर नाङ्गो छालाको प्रस्तुतिलाई बढि जोड दिने अनि छाला सुन्दर भएपछि उत्कृष्ट व्यक्तित्व भइन्छ भनेर समाजमा झूठो चेतना फैलाउन आमसञ्चारको ठूलो भूमिका रहन्छ । शारीरिक श्रम गर्ने महिलाहरु, कलम खियाएर समाजलाई सचेत बनाउन संघर्ष गर्ने महिला पत्रकारहरु, दिमाग खियाएर समाजलाई उज्यालोतिर लैजान जिवन आहुती दिने शिक्षिकाहरु वा मातृशिशुको स्वास्थ्यको लागि दुरदराजमा पुगेर कठीन कार्य गर्ने स्वास्थ्य स्वयंसेविकाहरु जस्ता समाजका अभियन्ताहरुको उत्प्रेरणादायी कर्म आफैंमा अति सुन्दर कर्महरु हुन् । तर अफसोच, मूलरुपले शरीरको उचाइ, रङ्ग र तौलको आधारमा नेतृत्वको मानक सिर्जना गर्ने कार्यले सुन्दरी प्रतियोगितासँगको मिलेमतोमा आमसञ्चारले नश्लवादी विभेदको संस्कृतिमा मलजल पुर्‍याइरहेको स्पष्ट देखिन्छ । 

आमसञ्चारका माध्यमहरुलाई जनताको सोचाइलाई आकार दिन सक्षम र बलियो माध्यमकोरुपमा लिइन्छ । तर यहि बलिया माध्यामहरुलाई व्यापारीको अर्थराजनीतिक स्वार्थ परिपूर्तिकालागि आवश्यकता अनुसार तोडमोड गरिन्छ । कर्पोरेट हाउसको मनोविज्ञानलाई आदर्श मान्दै सञ्चार माध्यामहरुले उत्पादन गरेको चरम उपभोक्तावादी विचारहरु नयाँ कलिला मष्तिष्कमा सुन्दरी प्रतियोेगिताकोबारेमा एकोहोरो अर्थ र सोचाइ बनाउन सफल हुन्छन् । यसकै प्रभावमा वर्षेनी ती नै श्रोता, दर्शक र पाठकहरुबाट सुन्दरी प्रतियोगितामा भाग लिन नयाँनयाँ अनुहारहरु तयार भइरहन्छन् । आमसञ्चारले प्रतियोगिता भइसकेपछि विजेताको सफलताको कथा मात्र पटकपटक देखाइरहने, छाला सुन्दर भएकै आधारमा बोल्न पाउने कार्यक्रमहरुमा रोजगार दिने हुनाले हार्नेहरुको समस्या र पिडा केहि पनि देख्न, सुन्न पर्दैन । असफलताको कथा आमसञ्चारले नदेखाउने र सुन्दरी प्रतियोगितामा छानिएकी युवतीहरुको अति साधारण सामाजिक कार्यहरु पनि उत्कृष्ट मानककोरुपमा आमसञ्चारले घरीघरी देखाइरहने हुनाले पनि मिस नेपाल धेरै कलिला युवतीहरुको आर्दश बन्न पुग्दछ । गीत गाउनु, वाद्ययन्त्र बजाउनु, नृत्य गरेर देखाउनुलाई नै आधार मान्दै मिस ट्यालेन्ट घोषणा गरिन्छ । धनाढ्य वर्गबाट आएका युवतीहरु जो महँगा निजि विद्यालयमा अध्ययन गरेका छन् र जसले अतिरिक्त कृयाकलापकोरुपमा प्राथमिक तहदेखि नै नृत्य, गायन र संगीतको कक्षाहरु लिएका छन् उनीहरुकोलागि यो नौलो चुनौती नै होइन । यस्तै खुद्रा कृयाकलापहरुको उदाहरण दिँदै सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरु पुरातनपन्थी, शास्त्रीय र संकुचित विचारहरुको हुन् भनेर आरोप लगाइन्छ । आमसञ्चारले सुन्दरी प्रतियोगिताकोबारेमा देखाइने गतिविधी र चिल्ला छालामा दिइएको प्राथमिकताको कारण धेरै श्रमजीवी युवतीहरु यो प्रतियोगितामा भाग लिन लायक छौं भनेर सोच्नसमेत पनि सक्दैनन् । शारीरिक श्रम कम भएपछि शरिरमा बोसो बढेर चिल्लो देखिने अनि शारीरिक श्रम बढि भएपछि बोसो पग्लेर कालो हुँदै जाने शारीरिक बनावटको कारण श्रम गर्न वाध्य नभएका धनाढ्य परिवारमा हुर्केका युवतीहरु नै प्रतियोगिताको लागि छनौट हुने गर्छन् । यस प्रकृयामा सुन्दरी प्रतियोगिताकोबारेमा जर्वजस्ती वैधानिकताको संस्कृति सिर्जना गर्न सञ्चार माध्यामहरुसँग बढि पहुँच पुगेका सहभागीहरुको नै वर्चश्व हुन जान्छ । राज्यका श्रोत तथा सुविधासँग धेरै नजिक भएका वर्गहरुको पहुँच हुनुले पौष्टिक खाद्यान्न, प्रचुर मात्राको खाना र गुणस्तरीय स्वास्थ्य सुविधा पाएका युवतीहरु नै सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी भएर देखापर्ने हुन्छ । श्रम, भोक र गरिबीमा बाँचेकाहरु यो प्रकृयामा भाग लिने त के, हेर्ने अवसरसमेतबाट वञ्चित हुन पुग्दछन् । तसर्थ, सुन्दरी प्रतियोगिताको नाममा अस्वस्थ संस्कृतिलाई मानक बनाएर आम जनमानसमा सुन्दरताको नश्लवादी मानक सृजना गर्न आम सञ्चारले भूमिका खेलिरहेको स्पष्टै देखिन्छ । 

तर अफसोच, मूलरुपले शरीरको उचाइ, रङ्ग र तौलको आधारमा नेतृत्वको मानक सिर्जना गर्ने कार्यले सुन्दरी प्रतियोगितासँगको मिलेमतोमा आमसञ्चारले नश्लवादी विभेदको संस्कृतिमा मलजल पुर्‍याइरहेको स्पष्ट देखिन्छ ।

सुन्दरी प्रतियोगितामा भाग लिनकोलागि आव्हान गरेको पद्धतीले समावेशी तरिकाले भाग लिन पाउने अवसरको सिर्जना गर्दैन । छनौट भइसकेपछि प्रतियोगीले तिर्नुपर्ने रकम पनि आर्थिकरुपमा कमजोर वर्गका युवतीहरुकोलागि छेकवार बन्न पुग्छ । जसले गर्दा निम्न वर्गको प्रतिनिधित्वमा सधैं छेकवार लाग्न पुग्दछ । त्यसमाथि पनि मोवाइल वा इन्टरनेट भोटिङ्ग गर्नु देखावटी सहभागिता मात्र हो । सुन्दरी प्रतियोगिता आयोजना गर्ने आयोजकहरुले दावा गरे जस्तै यदि यो साँच्चै छालाको व्यापार होइन भने महिनौं लामो प्रशिक्षणबाट निस्किएका होनहार युुवतीहरु कती जना राज्यको निती निर्माण तहमा पुगे ? खोजनिती हुन आवश्यक छ कि छैन ? लामो समयसम्म सञ्चारले एकै किसिमको मात्र संस्कृतिलाई प्रश्रय दिने हिसावले निरन्तर एउटै कुरा फुकेपछि भाषाको सहजता, पारिवारिक स्थिति र सुन्दरी प्रतियोगिताको सांस्कृतिक मान्यतासँग फरक मत नराख्नेहरुले दुई दिन भएपनि रमाइलो हुन्छ भन्दै निर्वाधरुपमा सुन्दरी प्रतियोगितामा भाग लिन मरिहत्ते गर्नु कुनै नौलो कुरा होइन । सुन्दरी प्रतियोगिताको मान्यता र विचारले एकोहोरिएका कलिला मनोविज्ञानहरु यसको फाइदालाई अंश र सतहमा हेरेर वैकल्पिक दृष्टिकोणबाट सोच्नसमेत जरुरी ठान्दैनन् । एकाधकिार सोचको फ्युजन हुँदै गएपछि व्यक्तिको विचारमा फ्युजन हुन पाउँदैन र सुन्दरी प्रतियोगिताको समर्थनमा मनोगत र एकांकी तर्कहरुले ठाउँ लिदै जान्छ । जसले गर्दा कर्पोरेट अर्थराजनीतिक स्वार्थको कारण वैकल्पिक आवाजहरु पहिला नै दबाइन्छ । 

सुन्दरी प्रतियोगिता आयोजना गर्ने आयोजकहरुले दावा गरे जस्तै यदि यो साँच्चै छालाको व्यापार होइन भने महिनौं लामो प्रशिक्षणबाट निस्किएका होनहार युुवतीहरु कती जना राज्यको निती निर्माण तहमा पुगे ? खोजनिती हुन आवश्यक छ कि छैन ?

सुन्दरी प्रतियोगिताको प्रतिस्पर्धाबाट छानिएका युवतीहरुको विज्ञापनमा गरिने वस्तुकरणको प्रकृयाले आमउपभोक्तालाई उत्पादनसँग सजिलै बाँधिदिन्छ । त्यसपछि सुन्दरी प्रतियोगिता आयोजना गर्ने वा आमसञ्चारबाट प्रदर्शन गर्ने वहानामा होस्, कर्पोरेट लगानीका उत्पादनहरु वहुसंख्यक दर्शकहरुलाई अवगत हुन्छ । जसको बढि चर्चा चल्छ त्यही नै राम्रो र प्रयोग गर्ने मानिसको हैसियत उँचो जस्ता भ्रमपूर्ण विचारहरु फैलाउन आमसञ्चार सफल हुन्छ । श्रमको प्रकृतिको कारण कठिन श्रम गरेर बाँचेकाहरु, धुलोमैलोमा बाँच्न विवसहरु सुकिला र चिल्लाहरुको अगाडि आफ्नो व्यक्तित्वबारे लघुताभाष महशुस गरिरहनु पर्ने हुन्छ । हुनेखानेहरुको व्यक्तिवाद, वर्गीय दम्भ र  भौतिकवादी संस्कृतिको दवदवामा श्रमजीवीहरुको पहिचान ओझेलमा परिरहन्छ । अनेक जात र थरसँग पनि जोडेर सुन्दरी प्रतियोगिता आयोजना हुने चलन बढ्दै गएकोले सुन्दरी प्रतियोगितामा पहिचानको राजनीतिक रङ्गमा नश्लीयता हावी हुँदै गएको देखिन्छ । वालिग उमेर नपुगेका नावालकहरुलाईसमेत अनेक उपमा दिएर नश्लवादी संस्कृतिको हिस्सा बनाउँदै लैजानु पितृसत्ता, पूँजीवाद र आमसञ्चारको मिलेमतोमा महिलाको शरिरलाई चरम वस्तुकरण गर्न नै सहयोग पुगीरहेको देखिन्छ । यसर्थ, आम सञ्चारले एकाधिकार पूँजीवादसँग गाँसेको अर्थराजनीतिक स्वार्थको कारण दुईचार जनालाई छालाको आधारमा राम्रो भनिदिने संस्कृतिको विकासले आमश्रमजीवी र कठीन परिश्रम गरेर बाँचेकाहरु, हुनेखानेले बनाएको सुन्दरताको परिभाषामा नसमेटिने युवतीहरु सधैं हेयभाव सहन बाध्य हुन्छन् । अल्पसंख्यकहरुले श्रोत, शक्ति र पहुँचको आधारमा विकास गरेको संस्कृतिलाई वहुसंख्यक मानिसहरुले वाध्यतावश स्विकार गर्दै जानुुपर्ने हुन्छ । फलस्वरुप, समावेशी संरचना, वहुलवाद र वहुसंस्कृतिवादका आदर्शहरु आमजनताकोलागि ‘आकाशको फल आँखा तरी मर’को रुपमा नै रहिरहन्छ  । 

 

यो पनि पढ्नुहोस्

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु